ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी 'मेजर लिग सकर' (एमएलएस) ले इन्टर मियामीमाथि 'टेम्परिंग' (नियमविपरीत खेलाडी फकाएको) आरोपमा छानबिन सुरु गरेको छ।
३४ वर्षीय कासेमिरोले अघिल्लो सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड छाडेका थिए। बुधबार मात्रै मियामीले उनलाई २०२७ सम्मका लागि अनुबन्ध गरेको घोषणा गरेको थियो, जसमा २०२९ जुनसम्म म्याद थप्न सकिने विकल्प समेत राखिएको छ।
तर घोषणा भएको केही समयमै एमएलएसले एक विज्ञप्ति जारी गर्दै क्लबविरुद्ध लागेको 'टेम्परिंग' को आरोपमा समीक्षा भइरहेको जनाएको छ। लिगले भनेको छ, ‘हामी आवश्यक जानकारी संकलन गरिरहेका छौँ र छानबिन नसकिँदासम्म थप टिप्पणी गर्ने छैनौँ।’
विवाद के हो?
यो विवाद कासेमिरोको 'डिस्कभरी राइट्स' (खेलाडी छान्न पाउने प्राथमिकताको अधिकार) सँग जोडिएको छ। एमएलएसको नियमअनुसार, कुनै क्लबले चाहेको खेलाडीको सूचीमा नाम राखेको छ भने उक्त खेलाडी भित्र्याउने पहिलो अधिकार सोही क्लबसँग हुन्छ।
कासेमिरोको हकमा यस्तो अधिकार 'लस एन्जलस ग्यालेक्सी' सँग थियो। यद्यपी मियामीले ग्यालेक्सीसँग सम्झौता गरेर उक्त अधिकार आफूले लिएको बताएको छ। तर,लिगले यस प्रक्रियामा कुनै नियम मिचिएको छ कि भनेर अनुसन्धान गरिरहेको छ।
रियल मड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग जितेका कासेमिरो सन् २०२२ मा म्यानचेस्टर युनाइटेड गएका थिए। युनाइटेडका लागि १६० खेल खेल्दै उनले २६ गोल गरे र टोलीलाई एफए कप तथा इएफएल कप जिताउन मद्दत गरे।
इन्टर मियामीका सह-मालिक डेभिड बेकह्यामले कासेमिरोलाई एक 'विजेता' खेलाडीको रूपमा स्वागत गरेका छन्। मियामीमा उनले आफ्ना पुराना साथी सर्जियो रेगुइलोनका साथै लियोनल मेसी र रोड्रिगो डी पल जस्ता स्टार खेलाडीहरूसँग खेल्नेछन्।
इन्टर मियामी विवादमा तानिएको यो पहिलो पटक भने होइन। सन् २०२१ मा पनि फ्रान्सेली खेलाडी ब्लाइस माटुइडीलाई अनुबन्ध गर्दा तलबको सीमा सम्बन्धी नियम उल्लंघन गरेको भन्दै क्लबलाई २० लाख डलर जरिवाना गरिएको थियो।