नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा कमिल मिसराको विस्फोटक शतकको मद्दतमा चितवन राइनोजले काठमाडौं गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो।
चितवनका लागि श्रीलंकाका अन्तर्राष्ट्रिय क्रिकेटर कमिल मिसराले अविजित १२० रनको शतकीय इनिङ्स खेले। उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २०३.३८ रह्यो।
सिजनको यो दोस्रो शतक हो। यसअघि पोखराका युवराज सिंह समराले पनि शतक बनाएका थिए। मिसराको यो स्कोर एनपिएलकै सर्वाधिक रन समेत हो। उनले यसअघि कर्णाली याक्सबाट मार्क वाटले बनाएको ११३ रनको रेकर्ड पछि पारेका हुन्।
२५ वर्षीय मिसराले श्रीलंकाको राष्ट्रिय टोलीबाट एक टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
चितवनको सुरुआत भने राम्रो हुन सकेन। टोलीले २२ रन जोड्दा देव खनाल (१७ रन) र डेभिड मलान (शून्य) लाई गुमाएको थियो। दुवै विकेट करण केसीले लगातार लिए।
त्यसपछि तेस्रो विकेटका लागि कमिल मिसरा र कप्तान रवि बोपाराबीच ९१ बलमा १५४ रनको उत्कृष्ट साझेदारी भयो। यही साझेदारीले चितवनलाई विशाल योगफलतर्फ डोर्यायो।
बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। उनी १८.३ ओभरमा राशिद खानको बलमा बोल्ड भए।
त्यसपछि विवेक यादवले आक्रामक ब्याटिङ गर्दै ३ बलमा २ चौकासहित ८ रन बनाए। उनी पनि राशिदकै बलमा आउट भए। कुशल मल्ल भने १ बल खेलेर अविजित रहे।
काठमाडौंका लागि करण केसी र राशिद खानले समान २–२ विकेट लिए। करणले ४ ओभरमा ३२ तथा राशिदले ४ ओभरमा ३८ रन खर्चिए।
चितवनले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर ६४ रन जोडेको थियो। अन्तिमतिर मिसराको आक्रामक ब्याटिङले टोलीलाई २०० रनको आँकडा पार गरायो।
आजको एलिमिनेटर जित्ने टोलीले फाइनल प्रवेशका लागि भोलि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।