कमिल मिसराको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गरेको छ। जितसँगै चितवनले फाइनल प्रवेशको सम्भावना कायम राखेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो।
अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको हो। लुम्बिनी भने यसअघि नै फाइनल पुगिसकेको छ।
मिसराको कीर्तिमानी शतक

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो।
चितवनका लागि श्रीलंकाका क्रिकेटर कमिल मिसराले अविजित १२० रनको कीर्तिमानी इनिङ्स खेले। उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २०३.३८ थियो।
यससँगै मिसराले एनपिएल इतिहासकै सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका छन्। यसअघि यो कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो। उनले ११४ रन बनाएका थिए।
२५ वर्षीय मिसराले श्रीलंकाको राष्ट्रिय टोलीबाट एक टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
चितवनको सुरुआत भने राम्रो हुन सकेन। ३.२ ओभरमा २२ रन जोड्दा देव खनाल (१७) र डेभिड मलान (शून्य) आउट भएका थिए। दुवै विकेट करण केसीले लिए।
त्यसपछि मिसरा र कप्तान रवि बोपाराले तेस्रो विकेटका लागि ९१ बलमा १५४ रनको उत्कृष्ट साझेदारी गरे। यो साझेदारीले चितवनलाई कमजोर सुरुआतबाट उकास्दै विशाल योगफलसम्म पुर्यायो।
बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। उनी १८.३ ओभरमा राशिद खानको बलमा बोल्ड भए।
त्यसपछि विवेक यादवले तीन बलमा दुई चौकासहित ८ रन जोड्दै टोलीको स्कोर १८४ पुर्याए। उनी पनि राशिदकै बलमा आउट भए। कुशल मल्ल शून्यमा अविजित रहे।
काठमाडौंका लागि करण केसी र राशिद खानले समान दुई विकेट लिए।
चितवनको बलिङसामु काठमाडौं निरीह
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमायो।
टोलीले ५ रन जोड्दा साहिल पटेल (२) को विकेट गुमाएको थियो। उनलाई रिजन ढकालले आउट गरे। त्यसपछि साम हेजलेट ३ रनमा आउट भए। ढकालले नै उनलाई बोल्ड गरेका थिए।
तेस्रो विकेटका लागि विल बोसिस्टो र राशिद खानले ३३ रनको साझेदारी गरे। बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए। उनी ६३ रनको अवस्थामा उस्मा मीरको बलमा आउट भए।
राशिद खान १५ बलमा १२ रन बनाएर कुशल मल्लको बलमा आउट भए। त्यसपछि सहान अराचिगेले १३ बलमा २४ रन जोड्दै केही आशा जगाए पनि उस्मा मीरले उनलाई पवेलियन फर्काए।
काठमाडौंले ९१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। कप्तान करण केसी १ र जहानदाद खान १ रनमा आउट भएपछि टोली थप दबाबमा परेको थियो।
सोनु देवकोटा ६ रनमा र सन्तोष यादव १० रनमा आउट भए। दुवैलाई रिजन ढकालले पवेलियन फर्काए।
अन्तिमतिर भीम सार्कीले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। उनले १७ बलमा ३ छक्कासहित अविजित ३० रन बनाए। गणेश गौतम ४ रनमा अविजित रहे।
चितवनका लागि रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। उस्मा मीरले ४ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे। कुशल मल्ल र सलाउद्दीन खानले एक–एक विकेट लिए। रिजन जारी सिजनमा सर्वाधिक विकेट लिने बलरको सूचीमा स्थानमा छन्। उनले अहिलेसम्म १६ विकेट लिइसकेका छन्।
रिजन र उस्माको उत्कृष्ट बलिङका कारण काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो।
अब चितवनको नजर फाइनलमा
एलिमिनेटरमा शानदार जित निकालेपछि चितवनले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको छ। बिहीबार हुने दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
पहिलो क्वालिफायर जितेको लुम्बिनी लायन्स भने उपाधि भिडन्तका लागि प्रतीक्षामा छ। उसले शनिबार दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ।