जर्मनीको फ्रान्कफर्टस्थित भएको 'नेपाल जर्मनी टिटी क्लैश' को दोस्रो संस्करण सम्पन्न भएको छ।
यो टेबल टेनिस प्रतियोगितामा जर्मनीभर छरिएर रहेका नेपाली खेलाडी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो।
यस पटकको प्रतियोगितामा जर्मनीका विभिन्न क्षेत्रबाट खेलाडी प्रतिस्पर्धाका लागि फ्रान्कफर्ट आइपुगेका थिए।
प्रतियोगितामा पुरुष तर्फ ४८ जना र महिला तर्फ ११ जना गरी कुल ५९ जना खेलाडीहरूले उपाधिका लागि भिडन्त गरेका थिए।
प्रतियोगितामा पुरुषतर्फ प्रशान्त पाण्डे पहिलो भए। उनले गत वर्षको उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेका हुन्। यस्तै तेजेश सिम्खडा दोस्रो र प्रसुन न्यौपाने तेस्रो भए।
महिलातर्फ दिप्तिका लामिछाने च्याम्पियन बनिन्। प्रतिक्षा पोख्रेल दोस्रो र सजना श्रेष्ठ तेस् भए।
विशेष विधा तर्फका पुरस्कार
योङ्गेस्ट ट्यालेन्ट : १० वर्षीय विज्ञान वल्लभ न्यौपाने (उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको अन्तिम आठ सम्म पुग्न सफल)
राइजिङ स्टार : सबिन खनाल
कार्यक्रमको सफल समापनपछि आयोजक टोलीका सदस्यहरू नरेन्द्र खनाल, सागर तिमल्सिना, सेविका निरौला, आशुतोष मिश्र र सागर खरेलले संयुक्त रूपमा खुसी व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गरे।
आयोजक कमिटीले प्रतियोगितालाई आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण प्रायोजकलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न खटिने स्वयंसेवक उदीप शाक्य, सागर भट्ट र नमुना राई लगायत सम्पूर्ण सपोर्टर्सहरूलाई धन्यवाद दिइएको छ। आयोजकले आगामी दिनहरूमा पनि यस्ता खेलकुदका कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्रवासमा नेपाली प्रतिभाहरूको प्रवर्द्धन गर्ने र भाइचारा अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
