इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी टेस्ट टोलीमा आएको ठूलो परिवर्तनपछि पूर्व कप्तान मिसबाह-उल-हकले छनोट समितिबाट राजीनामा दिएका छन्।
पाकिस्तान क्रिकेट बोर्डले (पीसीबी) टोलीका सात खेलाडी र प्रशिक्षकलाई बीचैमा हटाएको भोलिपल्टै मिसबाहले आफ्नो पद त्याग्ने घोषणा गरेका हुन्।
मिसबाहले छनोटकर्ता मात्र नभई लाहोरस्थित 'नेशनल क्रिकेट एकेडेमी' मा ब्याटिङ सल्लाहकारको रूपमा रहेको आफ्नो पदबाट पनि राजीनामा दिएका छन्। यद्यपी पीसीबीले उनको राजीनामा अझै स्वीकृत गरिसकेको छैन।
लर्ड्समा भएको दोस्रो टेस्टमा १९४ रनको हारसँगै पाकिस्तानले शृङ्खला गुमाएपछि बोर्डले कडा कदम चालेको थियो। बोर्डले सर्फराज अहमद (मुख्य प्रशिक्षक) र उमर गुल (बलिङ प्रशिक्षक) लाई पदबाट हटाउँदै सात जना खेलाडीलाई पनि घर फिर्ता पठाएको थियो। टोलीमा भएको यस्तो आकस्मिक र व्यापक परिवर्तनप्रति असन्तुष्टि जनाउँदै मिसबाहले राजीनामा दिएको बुझिएको छ।
घर फर्काइएका खेलाडीहरूमा मोहम्मद रिजवान, इमाम-उल-हक, सलमान अली आगा, अली उस्मान, आमिर जमाल, ओवैस जाफर र खुर्रम शहजाद रहेका छन्। उनीहरूको सट्टामा अराफात मिन्हास, मोहम्मद इमरान जुनियर, साद बेग, मोहम्मद इमरान रन्धावा र रजौल्लाह जस्ता नयाँ खेलाडीलाई टोलीमा थपिएको छ। टोलीको प्रशिक्षण अब माइक हेसन र एशले नोफ्केले सम्हाल्नेछन्।
सन् २०१७ मा पाकिस्तानका सबैभन्दा सफल टेस्ट कप्तानका रूपमा सन्यास लिएका मिसबाहले पीसीबीमा विभिन्न भूमिका निर्वाह गरिसकेका छन्।
सन् २०१९ मा उनी एकैसाथ मुख्य प्रशिक्षक र मुख्य छनोटकर्ता नियुक्त भएका थिए। पछि प्रशिक्षकमा मात्र केन्द्रित हुन उनले छनोटकर्ताको पद छाडेका थिए।
सन् २०२४ मा उनी राष्ट्रिय छनोट समितिका चार सदस्यमध्ये एकका रूपमा पुनः नियुक्त भएका थिए। उनी पछिल्लो समय घरेलु क्रिकेटमा 'मेन्टर' र ब्याटिङ सल्लाहकारका रूपमा पनि सक्रिय थिए।
आफ्नो नेतृत्वमा पाकिस्तान गोल्डलाई घरेलु ५० ओभरको च्याम्पियन्स कप जिताएको केही समयमै मिसबाहले अहिलेको अस्तव्यस्त अवस्थाका बीच बोर्डबाट बाहिरिने निर्णय गरेका हुन्।