पूर्व बग्छिन् कालीगंगा, पश्चिम काँठे खोला
थाप्लामाथि बाग्लुङले कहिले फेर्ने चोला ?
बाग्लुङको बजार, पँधेर्नीलाई दुःख हजार ।
डिल्ली प्रसाद आचार्यको जन्मथलो बाग्लुङ बजारको रामरेखाले सोचे जति चोला फेर्न सक्यो सकेन। तर आचार्यको जीवनले भने अनेक रूप फेरिसक्यो। कहिले प्रशासक, कहिले पत्रकार त कहिले पर्यटक बनेर उनका पाइतालाले आधा लोकभन्दा बढी चहारी सक्यो। मिलन र बिछोडका अनेक याम भोग्दै सुख–दु:ख, हर्ष–विस्मातका अनेक भँगेला तरिसक्यो।
पूर्वप्रशासक तथा पत्रकार आचार्यका यस्तै आरोह–अवरोह, रोमाञ्च र संघर्षका स्मृतिहरू संगालिएको किताब ‘झझल्काहरू’ सार्वजनिक भएको छ। विभिन्न समय, अवतार र भोगाइको समष्टि हो, ‘झझल्काहरू’।
आचार्यको चौरासी पूजाको अवसर पारेर शुक्रबार ललितपुरमा सार्वजनिक भएको पुस्तकलाई रुपन्देहीका पत्रकारहरू निर्मल ज्ञवाली, नारायण सापकोटालगायतले अनावरण गरे।
पत्रकार सापकोटाले भने, ‘आचार्यले स्वतन्त्रताका हिसाबले लेख्न बोल्न गाह्रो समयमा निर्भीक भएर कलम चलाउनु भयो। बाटोघाटोको सुविधा नभएको समयमा समेत अनेक ठाउँ डुलेर खोज पत्रकारिताको अभ्यास गर्नुभयो।’
उनले पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरू सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरू बलियोसँग आएको बताए।
‘नेताहरूले अहिलेको गणतन्त्रका बेलामा समेत लिपुलेकको बारेमा बोल्न सकेका छैनन्,’, उनले भने, ‘डिल्ली प्रसाद आचार्यले पञ्चायती शासनका बेला लिपुलेकबारे पत्रिकामा लेख्न सक्नु सानो साहस हैन।’
आजभन्दा झन्डै पचास वर्षअघि कालापानी–लिपुलेक पुगेर रिपोर्टिङ गर्ने जोखिम मोलेका डिल्ली प्रसाद आचार्यको कार्यको सबै वक्ताहरूले प्रशंसा गरे।
अर्का पत्रकार ज्ञवालीले पुस्तकमा समेटिएको विपीसँग अन्तर्वाता लिँदाको क्षण पढेर रोमाञ्चित भएको अनुभव साटे।
उनले भने, ‘विपीसँग अन्तर्वार्ता लिनु हामी बुटवलका पत्रकारका लागि उत्साहजनक अवसर थियो। त्यसको नेतृत्व डिल्ली दाइले नै गर्नुभएको थियो।’
गर्गगोत्री आचार्यहरूको वंशावली लेखनको काममा सक्रिय योगदान गरे बापत डिल्ली प्रसाद आचार्यलाई गर्गगोत्री आचार्य समाजले कदरपत्र प्रदान गर्दै सम्मान गर्यो।
पुस्तक अनावरणपश्चात् गोरखापत्रका पूर्व सम्पादक निर्मलकुमार आचार्य र लेखक भुवनहरि सिग्देलसमेतले किताबबारे चर्चा गरेका थिए। पुस्तकलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो ।
कार्यक्रमको अन्तमा डिल्ली प्रसाद आचार्यका छोरा दिनेश आचार्यले बुबा आमाको नाममा एक लाख धनराशीको ‘डिल्ली–मीठू आचार्य पुरस्कार’को घोषणासमेत गरे।
उनले भने, ‘बुबाले उत्खननका लागि प्रयास गरेको बुद्धको मावली तथा ससुराली देवदहको प्रचार प्रसार, प्रवर्द्धन र अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई वर्षेनी सो पुरस्कार दिइनेछ।’
पुरस्कारका लागि प्रतिष्ठान गठन अर्को हप्ता नवलपरासीको देवदहमा हुँदैछ। पत्रकार आचार्यले पत्रकारिता गरेको क्षेत्र बुटवल, देवदह र भैरहवामा झझल्काहरूको स्थानीय चर्चा परिचर्चाका साथै डिल्ली–मीठू आचार्य पुरस्कार समिति तयारीको उद्देश्यले लेखक र उनका परिवारसँगै पुस्तक प्रकाशक बुलबुल पब्लिकेशनले वैशाख १४ गते विशेष कार्यक्रम आयोजना गरेको छ।