बेलायती फिल्म ‘पियानो टु जान्सकर’ ले १७ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) अर्वाड जितेको छ। ६५ वर्षीय पियानो बाधकको जीवनमा केन्द्रित यो फिल्मले संगीत मात्रै नभएर मानव सम्बन्धलाई पनि जोडेको बताउँदै किम्फले अन्तर्राष्ट्रिय विधातर्फ सर्वाधिक २ लाख राशीको पुरस्कार दिएको हो।
दोस्रो पुरस्कार अष्ट्रेलियाका निर्देशक कलानी गाकोनले निर्देशन गरेको फिल्म ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ ले पाएको छ। नेपालमा आफ्नो जीवन बिताइरहेका ९ भिन्न देशका विदेशीको कथा समेटिएको यो फिल्म नाम जस्तै सुन्दर रहेको बताइएको थियो।
तेस्रो पुरस्कार स्पेनका निर्देशक मार्गा डिएजकाे फिल्म रोप्स (क्युरड्स) ले पाएको छ। यी फिल्मले क्रमशः १ लाख ५० हजार र १ लाख पाएका छन्।त्यसैगरी, नेपाल प्यानारोमातर्फ निर्देशक केदार श्रेष्ठको फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो। त्यसैगरी, उत्कृष्ट डकुमेन्ट्री ‘पोट्रेट अफ माने’ ले पायो। उनीहरुले क्रमशः १ लाख र ७५ हजार पुरस्कार पाए।
फिल्म ‘ड्रिमल्याण्ड’ ले उत्कृष्ट पर्वतीय फिल्मको अर्वाड पाएर १ लाख हात पार्यो। त्यसैगरी, सर्वाधिक दर्शकले मन पराएकाले नेपाली फिल्म ‘आमा खान्डाे’ ‘अडियन्स अवार्ड’ मा पर्न सफल हुँदै ७५ हजार हात पार्याे।
स्विट्जरल्यान्डका अलियन ग्यास्पोनरले निर्देशन गरेकाे १११ मिनेट लामो ‘हेइडी’ फिल्म प्रदर्शन गरेर महाेत्सव समापन भयाे।
किम्फकाे १७ औं संस्करणमा २९ देशका करिब ७० फिल्म समावेश थिए। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना भएकाे थियाे। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश थिए।
‘भाेइसेस फ्रम द मार्जिन’ नारासहित आयोजना भएको महोत्सवको उद्घाटन ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्मबाट भएकाे थियाे। फिल्मबाहेक महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन भयाे।
त्याेसँगै, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम, प्लान इन्टरनेसनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम, एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन भए।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी
यी पनि पढ्नुस्ः
'सहायक श्रीमान'
'खान्डोले फेरि बिहे गर्नुपर्यो'
पुरुषलाई पब-जी, नारीलाई सारी!
किम्फको पहिलो दिन 'एडमन्ड हिलारी' र 'हेभी मेटल'का फिल्म
'किम्फबाट युवा पुस्ताले परिचय बनाउने ठाउँ पाएका छन्'