यति बेला नेपालका सिनेमा हलमा विदेशी फिल्महरू मात्रै छन्। आठ वटाभन्दा बढी विदेशी फिल्म प्रदर्शन भइरहँदा नेपाली एउटा पनि छैन।
अघिल्लो साता रिलिज भारतीय फिल्म 'सैयारा' ले नेपालमा पनि उत्कृष्ट कमाइ गरिरहेको छ। त्यस्तै, एक महिनाअघि रिलिज भारतीय फिल्म 'सितारे जमीन पर' अझै लागिरहेको छ।
मल्टिप्लेक्स चेनहरूको वेबसाइट हेर्दा नेपाली फिल्म एउटा पनि छैन।
'सैयारा', 'सितारे जमीन पर' सहित 'द फेन्टास्टिक फोरः फर्स्ट स्टेप्स', 'एफ वानः द मुभी', 'सुपरम्यान', 'जुरासिक वर्ल्ड: रि–वर्थ', 'मेट्रो इन दिनो', 'महाभारत नरसिंहा' लगायतका विदेशी फिल्महरू हलमा छन्।
एक साता अघिसम्म नेपाली फिल्म 'ऊनको स्वीटर' केही हलमा थियो। अहिले भने फिल्म हलबाट उत्रिसकेको छ। वैशाख २६ मा रिलिज यो फिल्मले राम्रो व्यापार गर्दै ५१ दिन मनाएको थियो।
जेठमा ६ वटा नेपाली फिल्म रिलिज भए पनि धेरै फिल्म एक साता पनि टिक्न सकेनन्।
'नरसिंहा अवतार' ले अन्यको तुलनामा केही राम्रो व्यापार गरे पनि 'के घर के डेराः घर नं. २,', 'महाभोज', 'जन्तेबाख्रो', 'हेल्लो काँशीराम' को व्यापार निकै कमजोर रह्यो।
जेठमा ६ वटा फिल्म प्रदर्शनमा आएकोमा असारमा भने एउटा मात्रै नेपाली फिल्म 'यो मन त मेरो नेपाली हो' रिलिज भयो। तर यो फिल्म दुई/तीन दिनमै अधिकांश हलबाट उत्रियो।
त्यसयता अहिलेसम्म एउटा पनि नेपाली फिल्म रिलिज भएको छैन। साउनको पहिलो र दोस्रो शुक्रबार कुनै नेपाली फिल्म रिलिज नभएका हुन्।
अब, तेस्रो शुक्रबार (साउन १६) मा 'रियाल रिंगेट' रिलिज हुँदैछ। यसको एक सातापछि साउन २३ मा 'मोहर' र 'सिटामोल' गरी एकसाथ दुईवटा फिल्म प्रदर्शनमा आउँदैछन्। साउनमा जम्माजम्मी तीनवटा मात्रै नेपाली फिल्म आउन लागेका हुन्।
अरू समयमा हरेक साता दुईदेखि तीन वटासम्म नेपाली फिल्म भिड्ने गरेकामा असार/साउनमा कमै फिल्म रिलिज हुने गरेका छन्। पछिल्लो वर्ष यो समयमा रिलिज हुने फिल्मको संख्या अझ घट्दै गएको छ।
प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार असार/साउन वर्षाको समय भएकाले पनि पछिल्ला वर्ष फिल्म रिलिजका लागि निर्माताहरूको खास्सै रोजाइमा नपर्ने गरेको हो। उनका अनुसार पछिल्ला केही वर्षयता यो समयमा हलमा नेपालीभन्दा हिन्दी फिल्म नै बढी आउने गरेका छन्।
'असार–साउनमा वर्षा, बाढी–पहिरोको रिस्क हुने समय भएकाले निर्माता पनि फिल्म रिलिज गर्न रिस्क मान्ने गरेका छन्,' फिल्म हल सञ्चालक समेत रहेका महर्जनले भने, 'विगतमा पनि यो समयमा हिन्दी फिल्म नै बढी हुन्थे। व्यापार चाहिँ यसपालि हिन्दी फिल्मले राम्रो गर्यो। सधै यस्तो चाहिँ हुँदैन थियो।'
उसो त असार, साउनमा प्रदर्शनमा आएका फिल्मले राम्रो व्यापार गरेका उदाहरण समेत नभएका होइनन्। गत वर्षकै कुरा गर्दा असारमा प्रदर्शनमा आएको 'घरज्वाइँ' ले राम्रो कमाइ गरेको थियो।
तर यो समयमा रिलिज गर्दा केही प्रतिकूल अवस्था आइहाले 'रिस्क' हुने भएकाले पनि कमै निर्माता अगाडि नसर्ने गरेको महर्जनले बताए।
'कतिपय फिल्म असार/साउनमा पनि चलेका उदाहरण छन्। तर एकदमै कम छन्। फिल्म लगायो, ठूलो पानी पर्यो भने असर गरिहाल्छ भन्ने बुझाइले निर्माताहरू डराएको पाउँछु,' उनले आफै निर्माता रहेको फिल्मको उदाहरण दिँदै भने, 'मेरो फिल्म संरक्षण वर्षाको समयमै रिलिज गरेको थिएँ। ठूलो बाढी आएर फिल्मको प्रदर्शन नै प्रभावित बनेको थियो।'
वितरक करण श्रेष्ठ पछिल्ला वर्ष निर्माता र वितरकहरू नै असार, साउनमा फिल्म भरसक नल्याऊँ भन्नेमा पुगेको बताउँछन्।
उनका अनुसार असार–साउनमा झरीको प्रभाव फिल्मको व्यवसायमा देखिन पनि सक्छ। झरी परिरहँदा दर्शकहरू अन्य समयमा भन्दा बाहिर निस्किन असहज पनि मान्ने गर्छन्।
त्यसमाथि यो मानिसहरू खेती किसानीमा व्यस्त हुने समय मानिन्छ। यो समयमा देशमा बाढी, पहिरोजस्ता प्राकृतिक विपदका घटनाको जोखिम पनि बढी देखिन्छ।
वितरक श्रेष्ठ भन्छन्, 'कतिका घर बगाएको तथा कोही बेपत्ता भएको समेत सुनिन्छ। देशमा दुखद घटना घटिरहेको समयमा हामी मनोरञ्जन क्षेत्रमा भएकाहरू पनि खुसी हुन सक्दैनौं। दर्शकहरू केही समय खुसी हुन, रमाउन फिल्म हेर्न आउँछन्। तर देशमा विपदका घटना भइरहेको समयमा फिल्म हेर्न आग्रह गर्न पनि अप्ठ्यारो हुन्छ। त्यसैले पनि पछिल्लो समय निर्माता, वितरकहरूको तर्फबाट पनि प्रदर्शनका लागि असार–साउन रोजाइमा पर्न कम भएको हो।'
असार साउन मात्र होइन, पछिल्ला वर्ष पुस र माघमा पनि तुलनात्मक रूपमा कम फिल्म रिलिज हुने गरेका छन्। पुस–माघमा चिसो सिजन भएको र दिन छोटो हुने भएकाले निर्माता रिलिजका लागि हच्किने गरेका छन्।
तर केही वर्ष अगाडिसम्म असार–साउन र पुस–माघमा अलि बढी संख्यामा फिल्म रिलिज हुन्थे।
खासगरी साउने संक्रान्ति र माघे संक्रान्तिमा फिल्म रिलिज गर्न तँछाडमछाड नै हुने गरेको वितरक श्रेष्ठ स्मरण गर्छन्। तर पाँच/छ वर्षयता यो समयमा रिलिज क्रम घटेको उनी बताउँछन्।
चलचित्र संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ भन्छन्, 'पहिले देशमा अहिलेजस्तो धेरै मेला–महोत्सव हुँदैनथ्यो। जसका कारण साउने संक्रान्ति र माघे संक्रान्ति मेलामा बाक्लो चहलपहल र रौनक हुन्थ्यो। अहिले पनि नहुने होइन। तर फिल्मका सन्दर्भमा चाहिँ साउने संक्रान्ति र माघे संक्रान्तिमा देखिने त्यो पुरानो रौनक ह्वात्तै घटेको छ।'
पुस–माघमा पनि नेपाली हलमा विदेशी फिल्म बढी हुने गरेका छन्। क्रिसमस–डे र अंग्रेजी नयाँ वर्ष पर्ने हुँदा त्यस बेला पनि बाहिरी फिल्म बढी आउने गरेका हुन्।
भदौ लागेपछि भने नेपाली फिल्म रिलिजको तालिका चापाचाप छ। भदौ ६ गते एकैदिन दुई नेपाली फिल्म 'जनै हराएको मान्छे' र 'माग्ने राजा' रिलिज हुँदैछन्। त्यसपछि पनि लगातार हरेक हप्ता फिल्म रिलिजको तालिका तय छ।
असोजमा रिलिजको चाप हवात्तै बढ्नेछ। कात्तिकमा पनि थुप्रै फिल्महरू प्रदर्शनमा आउनेछन्।