दसैं फूलपातीको अवसर पारेर असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'माइतीघर' ले प्रचारप्रसार थालेको छ।
सिनेमा हलमा फिल्मको ठूला–ठूला पोस्टर राखिएको छ भने देशका विभिन्न स्थानमा होर्डिङबोर्ड पनि राखिएको छ।
फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने समेत बताइरहेका छन्।
यसैबीच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ।
भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीत 'बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर' मा भिडिओ बनाएर भदौको २० गतेसम्म पठाइसक्न निर्माण टिमले आग्रह गरेको छ।
भिडिओ ४० सेकेन्डदेखि २ मिनेटसम्मको बनाएर ओएसआर डिटिजलको इमेल osrdigitalnp@gmail.com मा पठाउनुपर्नेछ। ती भिडिओहरू ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुनेछ।
सार्वजनिक भिडिओमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडिओलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने प्रस्तुतकर्ता रोहित अधिकारीले बताए। 'बसन्त नै बस्न खोज्छ यहाँ लोलायर' बोलको गीतमा भारतीय गायिका सञ्जिवनीले स्वर दिएकी छिन्।
निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडिओ बनाउने व्यक्ति वा समूहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ।
मिलन तामाङको निर्देशनमा बनेको यो 'माइतीघर' मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरूङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारहरूको अभिनय छ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डोआपी र सुरेन्द्र पौडेलको सम्पादन छ। रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।