दसैंमा प्रदर्शन तयारीमा रहेको फिल्म 'माइतीघर' को शीर्ष गीत सार्वजनिक गरिएको छ।
रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको 'बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा भारतीय गायिका संजीवनीको स्वर छ। गीतको शब्द किरण खरेलको शब्द हो भने संगीत स्वर्गीय जयदेवको छ।
यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो। 'माइतीघर' नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो।
गीतको भिडिओमा फिल्मका अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। कविराज गहतराजले भिडिओको कोरियोग्राफी गरेका हुन्। यसको लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ।
लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडिओमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ ।
फिल्मको गीत 'बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर' को भिडिओ प्रतियोगीताको समेत घोषणा भइसकेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडिओ बनाउनेमध्ये एक जना उत्कृष्टलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका छन्। गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडिओ बनाउन सक्नेछन्।
मिलन तामाङको निर्देशनमा तयार भएको 'माइतीघर' मा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरूङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारहरूको अभिनय छ। चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको लेखन रहेको फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ। ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्।
मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ। 'माइतीघर' असोज १३ गते दसैं फूलपातीदेखि प्रदर्शनमा आउनेछ।