जेनजी आन्दोलनका कारण रोकिएका टेलिभिजन कमेडी कार्यक्रमहरू पुनः दर्शकमाझ आउन थालेका छन्।
चर्चित टेलिभिजन कार्यक्रम 'कमेडी नाइट विथ च्याम्पियन' ले मंगलबारदेखि नयाँ एपिसोडसहित पुनः प्रसारण सुरू गरेको छ। मंगलबार सार्वजनिक भएको एपिसोडमा फिल्म 'अभिमन्यु' का कलाकारहरू र निर्माता अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै, अर्को लोकप्रिय टेलिभिजन कमेडी कार्यक्रम 'कमेडी दरबार' पनि शुक्रबारदेखि प्रसारणमा आउने भएको छ। शुक्रबारको एपिसोडमा कमेडी प्रस्तुतिहरू भने समावेश हुने छैनन्। यसका निर्देशक विक्की अग्रवालका अनुसार, जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै र उनीहरूलाई 'त्रिब्युट' दिँदै कार्यक्रम दर्शकमाझ ल्याइनेछ।
'कमेडी नाइट विथ च्याम्पियन' विशाल भण्डारीले निर्देशन गर्दै आएका छन्। यसमा सुमन कार्की, सजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई, सन्तोष थापालगायतका कमेडियनहरूले प्रस्तुति दिँदै आएका छन्।
त्यस्तै, 'कमेडी दरबार' विक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्दै आएका छन्। यसमा सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), पवित्रा साँकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त, विकास अर्याललगायतका कमेडियनहरूको प्रस्तुति रहँदै आएको छ।