फिल्म 'मिरमिरे' को शीर्षक गीत सोमबार सार्वजनिक भएको छ। प्रकाश सपुत र मेलिना राईको स्वरमा 'मिरमिरे भो' बोलको गीत सार्वजनिक गरिएको हो। यो डान्सिङ नम्बर गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ।
गीतमा युवा-युवतीबीचको प्रेमको कुरा छ। एकले अर्कोलाई देखेपछिको आकर्षणको कुरा यसमा गरिएको छ।
फिल्म 'मिरमिरे' मा अभिनेताहरू दयाहाङ राई र प्रकाश सपुत एकसाथ देखिँदै छन्।
'मिरमिरे भो' गीतको भिडिओमा पनि दयाहाङ र प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखुको नृत्य छ। त्रिकोणात्मक प्रेमकथा भिडिओमा देखिन्छ। गीतले फिल्ममा त्रिकोणात्मक प्रेमकथा पनि रहेको संकेत समेत गर्छ।
फिल्म 'मिरमिरे' यम शेर्पाले निर्देशन गरेका हुन्। यसमा दयाहाङ, प्रकाश र सिर्जनाका साथमा माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारहरूको अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ को सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्।
आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल यो फिल्मको कार्यकारी निर्माता हुन्।
'मिरमिरे' माघ १ गतेदेखि प्रदर्शनमा आउने तय छ।