नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली फिल्मलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले महोत्सव गर्दै आएको छ।
निफको नवौं संस्करणमा दर्शकहरूले पाँच दिनभित्र ४० देशका ८८ फिल्महरू हेर्न पाउनेछन् र फिल्मकर्मीहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्। 'विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो। यस संस्करणमा युवा पुस्ताको रूचिलाई केन्द्रमा राखेर फिल्महरू चयन गरिएको निफले जनाएको छ।
निफका अध्यक्ष केपी पाठकले भने, 'हामीले यो पटक युवापुस्ता केन्द्रित फिल्महरूलाई प्राथमिकता दिएका छौं। निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास रहेको छ।' उनका अनुसार युवा मेकरहरूलाई प्रोत्साहन गर्न एआई फिल्म मेकिङको कार्यशाला लगायतका सेसन पनि राखिने छ। फिल्मबाट युवादर्शकहरूलाई आशा जगाउने आफूहरूको मुख्य प्रयास रहने पाठकले बताए।
यो वर्ष ८० बढी देशबाट ८०० बढी फिल्महरूले महोत्सवमा सहभागी हुन आवेदन दिएको निफले जनाएको छ।
ती ८०० मध्येका उत्कृष्ट र युवाको चासोमा रहेका फिल्महरू चयन गरिएकाले यस संस्करणको निफको स्क्रिनिङ विशेष रहने 'महोत्सव चलचित्र छनोट समिति' को विश्वास छ।
'पहिलाका संस्करणको तुलनामा यो पटक बढी फल्मको सहभागिता भएको छ। यो सबभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ', अध्यक्ष पाठक भन्छन्, 'यो भनेको अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरूको निफप्रतिको विश्वास बढेको हो।'
विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका,संघाई, लोकार्नो, बुसान, गोवालगायत फिल्म महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर फिल्म, सर्टफिल्म, एआईबाट बनेका फिल्म र डकुमेन्ट्रीहरू गरी ४० देशका ८८ वटा फिल्महरू निफले छनोट गरेको हो।
गत जुनमा निफले विश्वव्यापी आवेदन खुलाएको थियो। त्यसबेला निफ फागुनमा २१ देखि सुरू हुने घोषणा गरिएको थियो। गत भदौं २३–२४ मा भएको जेन–जी आन्दोलनले फागुनमा आम निर्वाचन हुने भएकाले यसको मिति एक महिनापछि सारिएको छ।
अध्यक्ष पाठक भन्छन्, 'निर्वाचन हुँदा यातायात देखि सुरक्षाका विषयहरू सरोकारमा पर्छन्। यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सहभागिता हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो।'
यी विधामा दिइनेछ अवार्ड
निफको शीर्ष अवार्ड सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मका विजेता 'गौतम बुद्ध अवार्ड' बाट एक हजार पाँच सय (१,५००) अमेरिकी डलर नगद र ट्रफीले पुरस्कृत हुनेछन्।
त्यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फिल्मका विजेता एक लाख (१,००,०००) रूपैयाँ नगद र ट्रफीले सम्मानित हुनेछन्।
डकुमेन्ट्री फिल्म विधामा सर्वोत्कृष्ट ठहर हुने 'माउन्टे एभरेस्ट अवार्ड' विजेता घोषित भइ पुरस्कार स्वरूप एक हजार (१,०००) अमेरिकी डलर र ट्रफी पाउनेछन्।
सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर फिल्म विधाका विजेता पनि पाँच सय (५००) अमेरिकी डलर र ट्रफीले सम्मानीत हुनेछन्।
एआई फिल्म विधाका विजेता 'मञ्जुश्री अवार्ड' मार्फत् पाँच सय (५००) अमेरिकी डलर र ट्रफीले पुरस्कृत हुनेछन्।
अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले 'बेस्ट स्टुडेन्ड फिल्म अवार्ड' को ट्रफी पाउनेछन्। राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले 'सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड' मार्फत् पचास हजार (५०,०००) रूपैयाँ नगद र ट्रफी पाउनेछन्।
त्यस्तै, राष्ट्रिय डुकुमेन्ट्री विधाका विजेताले 'वेस्ट नेस्नल डकुमेन्ट्री' अवार्डको ट्रफीसहित पचास हजार (५०,०००) रूपैयाँ र ट्रफी पुरस्कार पाउनेछन्।
राष्ट्रिय फिचर फिल्मतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री,पटकथा लेखक, छायाँकार चाहिँ ट्रफीले पुरस्कृत हुनेछन्।