निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' अब युट्युबमा रिलिज हुने भएको छ।
मंगलबार फेसबुकमा पोस्ट राख्दै निर्देशक बस्नेतले यही शुक्रबारदेखि फिल्म युट्युबमा हेर्न सकिने जानकारी दिएका हुन्।
अभिनेत्री स्वस्तिमा खड्काले ओएसआर डिजिटल युट्युबमा फिल्म रिलिज हुन लागेको जानकारी दिएकी छन्। उनले फेसबुकमा पोस्ट लेखेकी छन्– 'जनताको दिमाग खराब गर्ने मान्छेहरूको दिमाग खराब गराउन जनताले के गर्छन् भन्ने कुरा हेर्नको लागि हाम्रो फिल्म ‘दिमाग खराब’ यही शुक्रबारदेखि ओएसआरको युट्युबमा हेर्नुहोला।'
सोसल ड्रामा जनरामा बनेको यो फिल्म हलमा दुई वर्षअघि रिलिज भएको थियो। 'दिमाग खराब' ले व्यवस्थागत विकृति र भ्रष्टाचारका कारण मानसिक दबाबमा परेका एक आम नागरिकको कथालाई प्रस्तुत गर्छ। समाज र राजनीतिबाट पीडित पात्रले आफ्ना अधिकारका लागि उठाउने आवाज र त्यसबाट पैदा हुने परिस्थितिलाई फिल्मले केन्द्रमा राखेको छ।
फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत कलाकारहरूको अभिनय छ। रौनक विक्रम कंडेल यसको निर्माता हुन्।
बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरेको फिल्मले समीक्षा पनि सकारात्मक पाएको थियो।