चैत १९ देखि २३ गतेसम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी तीव्र पारिएको छ।
महोत्सवअन्तर्गत निफ हाल 'प्री-इभेन्ट' चरणमा प्रवेश गरेको छ। यस अन्तर्गत फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम भइरहेका छन्।
नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीबार निफले 'हर सिनेमा, हर भोइस' शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
निफका अध्यक्ष केपी पाठकका अनुसार नेपाली फिल्म क्षेत्रमा महिला मेकरहरूले भोग्नुपरेका समस्या उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
उनले भने, 'पुरूषप्रधान भनिँदै आएको नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले कस्ता–कस्ता समस्या भोग्ने रहेछन् भन्ने कुरा उनीहरूबाटै सुनाउन खोजिएको हो। उनीहरूको आवाज बहसको विषय बनोस् भन्ने हाम्रो उद्देश्य हो।'
कार्यक्रममा सहभागी तीनै निर्देशकहरूले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको 'पमान' र कठिनाइबारे अनुभव साझा गरे।
संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र सिर्जनात्मक क्षमताको कदर नभएको यथार्थ सुनाइन्।
उनले भनिन्, 'एउटा भिडिओ वा फिल्म तयार हुन्छ, तर त्यसको श्रेय महिला निर्देशकले पाउँदैनन्। ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडिओ तयार गर्यो होला। त्यसमा निर्देशकको के भूमिका छ र?’ भन्ने कुरा सुनिन्छ। यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो।'
निर्देशक समुन्द्र भट्टले महिला भएकै कारण आफूले छायांकन स्थलमा निर्देशकको दर्जा नपाएको सुनाइन्। उनले भनिन्, 'एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमति बिना नै अर्को पुरूष निर्देशक खोजेर बेड सिन खिच्नुभयो, जबकि सो फिल्ममा म निर्देशक थिएँ।'
यस विषयमा प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उनको दाबी छ।
अर्को फिल्ममा भिडिओ सम्पादकले ‘एक साता घरमा गएर सुत्नू, बुहारी मान्छे, म आफैं फिल्म सम्पादन गर्छु’ भनेर रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको उनले सेयर गरिन्।
महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उनीहरूको भोगाइ छ। निर्देशक उषा रजकले बजारमा महिला निर्देशकप्रति विश्वासको अभाव रहेको बताइन्। 'महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन। स्पोन्सर र लगानीकर्ता भेट्न कठिन हुन्छ,' उनले भनिन्।
यसै सन्दर्भमा समुन्द्र भट्टले भनिन्, 'बजारमा महिला निर्देशकको परियोजनामा लगानी गर्ने निर्माता पाइँदैनन्। मैले आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने टिप्पणीसमेत सुन्नुपर्यो।'
फिल्म क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ। महिला भएकै कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने अवस्था दुःखद विषय रहेको उनीहरूले उल्लेख गरे।
'हर सिनेमा, हर भोइस' निफको दोस्रो ‘प्री इभेन्ट’ अन्तरक्रिया कार्यक्रम हो। यसअघि 'द न्यु वेभ इन नेपाली सिनेमा' शीर्षकमा अन्तक्र्रिया गराएको थियो, जहाँ युवा फिल्म मेकरहरूबीच अन्तरक्रिया भएको थियो।
निफबारे विशेष जानकारी
लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निफले 'निफ फिचर पिच' शीर्षकको कार्यक्रमसमेत तय गरेको छ। निर्माताको खोजीमा रहेका लेखकहरूका लागि अवसर’ बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको अध्यक्ष पाठकले बताए।
उनले भने, 'यस कार्यक्रममा लेखकहरूले आफ्नो कथा निर्माताहरूलाई सुनाउन पाउनेछन्। हामी लेखकहरूलाई कथा सुनाउने मञ्च दिन्छौं, जहाँ निर्माताहरूको उपस्थिति रहनेछ।'
उक्त कार्यक्रम निफको तेस्रो दिन अर्थात् चैत २१ गते आयोजना हुनेछ। सहभागी हुन इच्छुक लेखकहरूले चैत ६ गतेभित्र निफमा आवेदन दिनुपर्नेछ।
त्यस्तै, युवाहरूलाई फिल्म महोत्सवसँग जोड्ने उद्देश्यले 'फ्रेम योर फ्युचर' शीर्षकको प्रतियोगिता पनि ल्याइएको छ। यस प्रतियोगितामा सहभागी हुन आफ्नो कथामा दुई मिनेटको भिडिओ बनाउनु पर्नेछ।
प्रतियोगिताका विजेताले पन्ध्र हजार, उप-विजेताले दश हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार जित्नेछन्। आवेदन दिन चैत ११ गतेसम्मको समयसीमा तोकिएको छ।