नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बलिउडका चर्चित निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली फिल्मका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ।
चैत १९ देखि २३ गतेसम्म हुन लागेको निफको अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत रहेर यी दुईबीच संवाद हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए।
निफको दोस्रो दिन (चैत २० गते शुक्रबार) नेपाल पर्यटन बोर्डमा दिउँसो ३ बजे ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकमा कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा नेपाली र बलिउड फिल्मको यात्रा, व्यक्तिगत अनुभव, फिल्मको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने बताइएको छ।
अध्यक्ष केपी पाठकले भने, 'दुई लेजेन्डहरूको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो। निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो।'
निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको आयोजकले बताएको छ।
रमेश सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन्। उनले निर्देशन गरेको 'शोले' बलिउड इतिहासकै एक महत्वपूर्ण फिल्मका रूपमा स्थापित छ।
सिप्पीले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरूख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, सञ्जीव कुमार, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन्।
त्यस्तै, नेपाली अभिनेता राजेश हमालले २ सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयसहित बौद्धिक छवि र प्रभावशाली व्यक्तित्वका कारण उनी नेपाली फिल्म क्षेत्रमा विशेष रूपमा लोकप्रिय छन्।
नवौं संस्करणको निफ चैत १९ गतेदेखि काठमाडौंमा सुरू हुनेछ। आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछ। साथै प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन फिल्महरू पनि निफमा देखाइनेछ।