सुदर्शन थापा निर्देशित फिल्म 'शुभ विवाह'को छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४५ दिनको छायांकन तालिका बनाए पनि निर्धारित समयभन्दा पाँच दिनअघि नै सुटिङ पूरा गरेको हो।
निर्देशक थापाका अनुसार कलाकार तथा प्राविधिकको निरन्तर मेहनतका कारण निर्धारित समयभन्दा अगावै छायांकन सकिएको हो।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। साथमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। कथा प्रदीप श्रीवास्तवको हो भने पटकथा तथा संवाद रामशरण पाठकले लेखेका छन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, मिलन श्रेष्ठको सम्पादन रहनेछ।
निर्देशक थापा र अभिनेता खड्काले यसअघि 'प्रेम गीत'मा सहकार्य गरेका थिए।
'शुभ विवाह' आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मेवारी भिष्म फिल्म्स र श्री राम बालाजीले लिएका छन्।