एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्म 'बाः एक योद्धा', 'आचार्य' र 'जदौ'को १० दिनको बक्स अफिस विवरण सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार असोज १८ गतेसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो। जसअनुसार तीन फिल्ममध्ये 'बाः एक योद्धा'ले सबभन्दा बढी कमाइ गरेको छ।
हरि लम्साल निर्देशित 'बाः एक योद्धा'ले १० दिनमा १ करोड ९३ लाख ६ हजार ४६५ रूपैयाँ ग्रस कमाएको हो। फिल्मका ६५ हजार ५६० वटा टिकट बिक्री भएका छन्। फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग र संघर्ष तथा वृद्धावस्थामा भोग्नुपर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, सागर खनाल, अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ।
त्यस्तै, अभिनेता निखिल उप्रेतीको निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको 'आचार्य'ले १० दिनमा १ करोड ५६ लाख ६७ हजार ५४६ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ५४ हजार १०६ वटा टिकट बिक्री भएका छन्।
एक्सन-ड्रामा जनराको फिल्ममा निखिलसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारको अभिनय छ। पूर्णिकाले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् भने निखिलले लामो समयपछि यही फिल्ममार्फत ठूलो पर्दामा कमब्याक गरेका हुन्।
यस्तै, अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको 'जदौ'ले १० दिनमा १३ लाख ९८ हजार ७१५ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ३ हजार ८६७ वटा टिकट बिक्री भएका छन्।
'जदौ' प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध र पारिवारिक द्वन्द्वमा आधारित सामाजिक ड्रामा हो। फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, राजश्री थापालगायत कलाकारको अभिनय छ।
यी तीनै फिल्म असोज ९ गते एकसाथ रिलिज भएका थिए।