काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करणका लागि २६ फिल्म छनोट भएका छन्। अक्टोबर ३० देखि नोभेम्बर १ (कात्तिक १३ देखि १५) सम्म काठमाडौंस्थित रसियन हाउसमा आयोजना हुने फेस्टिभलका लागि ८ वटा फिचर र १८ वटा छोटा फिल्म छनोट भएका हुन्।
अन्तर्राष्ट्रिय रूपमा आह्वान गरिएका हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित फिल्ममध्येबाट २१ देशका फिल्म छनोट भएका छन्। छनोटमा नेपालका निर्माण तथा सह-निर्माण गरी ५ फिल्म छन्।
फिचरतर्फ बेलायतको अबान्डन्ड, सर्बियाको फ्रस्ट, अमेरिकाको किल मी, लेबनान, फ्रान्स, कतार र साउदी अरेबियाको सहकार्यमा बनेको इन दिस डार्कनेस आइ सी यू, क्यानडाको द र्याथ, फ्रान्स र अमेरिकाको सहकार्यमा बनेको द वन्स हु ग्रिभ, इरानको पोल्ट्री फार्म र अस्ट्रेलिया-नेपालको सहकार्यमा बनेको मोक्ष छनोट भएका छन्।
छोटो फिल्मतर्फ नेपालका नार, सिनर, लाखे र एलिससहित विभिन्न देशका १८ फिल्म छनोट भएका छन्।
छनोट भएका अन्य फिल्ममा अमेरिकाको ओबे, इटाली-स्लोभेनियाको कस्मोनट्स, बेल्जियमको द लिडर विल कम, स्पेनका ह्याप्पी, सिन्कोपाट र सेप्टेनो, अर्जेन्टिनाको समथिङ स्केरी, फ्रान्सका मक्र्युरियो र लाइफलाइन, साउथ कोरियाको द ओल्ड म्यान एन्ड द ग्रेभ, जापानको एग, स्विट्जरल्यान्डको भ्यागाबन्ड, ब्राजिलको फाभेला अमारेला तथा मेक्सिकोको डिस्ट्रो छन्।
फेस्टिभल निर्देशक रशिक पाठकका अनुसार हरर विधा अहिले फिल्मको सिर्जनशील विधामध्ये एक बनेको छ। यस विधामार्फत फिल्मकर्मीहरूले लोककथा, मनोविज्ञान, समाज र पहिचानजस्ता विषय प्रस्तुत गरिरहेको उनले बताए।
'हरर अहिले सिनेमाको सबभन्दा सिर्जनशील विधामध्ये एक हो। फिल्मकर्मीहरूले यसमार्फत लोककथा, मनोविज्ञान, समाज र पहिचानका विषय उठाइरहेका छन्,' पाठकले भने, 'काठमाडौं हरर फिल्म फेस्टिभलले यस विधामा काम गर्ने नेपाली फिल्मकर्मीलाई दर्शक र समुदायसँग जोड्ने काम गर्छ। यस संस्करणमार्फत नेपाली फिल्मकर्मीलाई विदेशका थप फिल्मकर्मीसँग सम्पर्कमा ल्याउन चाहन्छौं।'
सन् २०२५ मा सुरू भएको काठमाडौं हरर फिल्म फेस्टिभल नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा हुँदै आएको छ।
हरर तथा विधागत फिल्ममा केन्द्रित फेस्टिभलले नेपाली फिल्मकर्मीलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहित गर्दै विश्वका विभिन्न देशका विधागत फिल्म नेपाली दर्शकमाझ ल्याउने उद्देश्य राखेको छ।
फेस्टिभलको पहिलो संस्करणदेखि नै स्थल साझेदारका रूपमा सहकार्य गर्दै आएको रसियन हाउसले यस वर्ष पनि कार्यक्रम आयोजना गर्न स्थान उपलब्ध गराएको आयोजकले जनाएको छ।