अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
शुक्रबार सार्वजनिक भएको टिजर तीन दिनमै युट्युब चार्ट्समा फिल्म विधाअन्तर्गत नेपालमा पहिलो नम्बरमा पुगेको हो।
नेपालसहित एक दर्जनभन्दा बढी देशमा समेत टिजर ट्रेन्डिङमा रहेको निर्माण पक्षले जनाएको छ। सोमबार दिउँसोसम्म टिजरलाई युट्युबमा साढे ६ लाखभन्दा बढीपटक हेरिएको छ।
भुवन केसी निर्देशित 'बाटुलो जून' ले पुरानो समयको प्रेमकथा प्रस्तुत गर्छ। तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ। फिल्ममा अनमोल र प्रिन्सीको जोडीलाई प्रस्तुत गरिएको छ। प्रिन्सीको यो डेब्यु फिल्मसमेत हो।
टिजरमा अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयको समेत प्रशंसा भइरहेको छ भने डेब्यु अभिनेत्री प्रिन्सीको उपस्थितिलाई पनि दर्शकले रूचाएको देखिन्छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ। जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता छन्।
यो अनमोलको 'जेरी अनटप' रिलिजको एक वर्षपछि आउन लागेको फिल्म हो।