रामबाबु गुरूङको लेखन तथा निर्देशनमा बनेको फिल्म 'कबड्डी ५ः आफ्टर द फाइनल म्याच'को गीत 'थाक खोला' सार्वजनिक भएको छ।
निर्माण टिमले सोमबार बाँसुरी फिल्म्सको आधिकारिक युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।
कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत रहेको गीतमा रिकेश गुरूङ किजको संगीत संयोजन छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरूना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरूङ र सिर्जना गुरूङ देखिएका छन्। भिडिओमा दयाहाङको मिरूना, सिर्जना र रिश्मासँगको प्रेम, सम्बन्ध र रमाइलो नोकझोकलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको छ।
भिडिओमा थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखाका मनमोहक दृश्यसमेत देख्न सकिन्छ। गीतमा छुट्टै नृत्य वा कोरियोग्राफीभन्दा फिल्मकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध र भावनालाई प्राथमिकता दिइएको छ।
यसअघि सार्वजनिक फिल्मको टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। टिजरमा मिरूना मगर नदेखिएपछि दर्शकले उनको उपस्थितिबारे चासो राखेका थिए। सार्वजनिक गीतमा भने उनी देखिएकी छन्।
फिल्म यस वर्षको दसैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरूङ, सिर्जना गुरूङ, मिरूना मगर, पुस्कर गुरूङ, माओत्से गुरूङ, कमलमणि नेपाल, कविता आले, अरूणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरूङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरूङले लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता हुन्। फिल्ममा सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ।
नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछ।