नेपाली फिल्म 'हिमालयन गोल्ड' भारतमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ। फिल्मलाई भारतमा चर्चित वितरण कम्पनी एए फिल्म्सले वितरण गर्ने भएको हो।
फिल्मका निर्देशक धिराज राजवंशी र एए फिल्म्सका संस्थापक अनिल थडानीबीच मुम्बईमा यससम्बन्धी सम्झौता भएको निर्माणपक्षले जनाएको छ।
भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने ‘हिमालयन गोल्ड’ पहिलो नेपाली फिल्म बन्ने निर्माण पक्षको दाबी छ। एए फिल्म्सले 'दिलवाले दुल्हनिया ले जाएंगे', 'बाहुबली', 'केजीएफ', 'पुष्पा', 'कान्तारा' लगायतका चर्चित फिल्म वितरण गरिसकेको छ।
भारत रिलिजबारे अनिल थडानीले 'हिमालयन गोल्ड'को कथावस्तु भारतीय दर्शकले पनि रूचाउने विश्वास व्यक्त गरेका छन्। निर्देशक राजवंशीले भने यो उपलब्धि आफ्नो मात्र नभई समग्र नेपाली फिल्म उद्योगकै लागि महत्वपूर्ण भएको बताएका छन्।
'हिमालयन गोल्ड'मा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य भूमिका छ। यो सुनिल थापाको अन्तिम फिल्मसमेत हो।
धिराज राजवंशीको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ४ गते (नोभेम्बर २०) मा नेपाल तथा भारतमा प्रदर्शन हुँदैछ।
फिल्मको ट्रेलर आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ।
'हिमालयन गोल्ड'ले यार्सागुम्बा संकलन गर्न हिमाली क्षेत्रतर्फ पुगेकी एक युवती लुटेरा गिरोहको फन्दामा परेपछि आफ्नो परिवार र आफूलाई बचाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ।