पाल्पाको तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ।
कथा मण्डला काठमाडौं र सञ्चार मञ्च पाल्पाको आयोजनामा असोज २२ गते (बिहीबार)देखि २४ गते (शनिबार)सम्म महोत्सव हुन लागेको हो।
तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा आयोजना हुने महोत्सवलाई तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन्।
महोत्सव संयोजक पाण्डव खत्रीद्धारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशको कला, संस्कृति, इतिहास र पर्यटनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव हुन लागेको उल्लेख छ।
तीन दिनसम्म चल्ने महोत्सवमा २६ वटा चलचित्र प्रदर्शन गरिनेछ। नेपालसहित विभिन्न देशका चलचित्र महोत्सवमा समावेश छन्।
नेपाली फिचर तथा लघु कथानक चलचित्र र वृत्तचित्रका साथै अन्तर्राष्ट्रिय फिचर तथा लघु चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई प्राथमिकता दिइएको विज्ञप्तिमा उल्लेख छ।
चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता र कलाकारसँग दर्शकको प्रत्यक्ष संवादसमेत हुनेछ। त्यस्तै, लुम्बिनी प्रदेशको कला, संस्कृति र पर्यटनसँग सम्बन्धित विषयमा प्यानल छलफल समेत आयोजना गरिनेछ।
छलफलमा विज्ञ, नीतिनिर्माता, स्थानीय तहका प्रतिनिधि र चलचित्रकर्मी सहभागी हुनेछन्।
महोत्सवका लागि करिब २४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले स्वदेशी तथा विदेशी गरी ५ हजारभन्दा बढी दर्शक, चलचित्रप्रेमी तथा पर्यटकको सहभागिता अपेक्षा गरेको छ।
पाल्पाको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक पक्षलाई चलचित्र छायांकनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने दीर्घकालीन लक्ष्यसमेत महोत्सवको रहेको विज्ञप्तिमा उल्लेख छ। चलचित्रका माध्यमबाट स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।
