अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा बनेको फिल्म '१२ गाउँ २'को नयाँ गीत 'रेशमी रूमाल' सार्वजनिक भएको छ।
निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो। यसको भिडिओमा फिल्मका निर्देशकसमेत रहेका विराज भट्ट र वर्षा इटानीलाई प्रस्तुत गरिएको छ।
रोमान्टिक शैलीको गीतले प्रेम र सम्बन्धको कुरा गरेको छ। गीतमा देवेन्द्र बरालको संगीत, डीपी खनालको शब्द छ भने भिडिओको कोरियोग्राफर सियोन श्रेष्ठ हुन्।
एक्सनप्रधान टिजरमार्फत चर्चा बटुलेको '१२ गाउँ २'को यो तेस्रो गीत हो। यसअघि 'जुनेली' र 'लालीगुराँस' गरी दुई गीत सार्वजनिक भइसकेका छन्।
'१२ गाउँ २' मा विराज भट्ट, समीर भट्ट, कृशु शाही, वर्षा इटानी, अनुपविक्रम शाही, सुनिल पोखरेल, प्रकाश शाह, खुशी कार्की, कालु राना, पुष्कर भट्टलगायतका कलाकारको अभिनय छ।
'१२ गाउँ २' असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ। यो यस वर्षको प्रतीक्षितमध्येको फिल्म हो।