यस वर्षको प्रतीक्षित नेपाली फिल्ममध्ये एक 'छ माया छपक्कै २'को दोस्रो गीत 'मायामा एक्सपायरी डेट हुँदैन' सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक रोमान्टिक शैलीको यो गीतमा सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ।
भिडिओमा फिल्मका प्रमुख कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन्। श्रीमान-श्रीमतीको भूमिकामा रहेका दीपकराज र केकीबीचको प्रेमिल सम्बन्ध भिडिओमा देखाइएको छ। उनीहरूबीचको सम्बन्धमा सनिशाको प्रवेशसँगै कथाले नयाँ मोड लिएको संकेत देखिन्छ।
गीतले फिल्ममा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ। तर, गीतको भिडिओमार्फत कथाबारे धेरै कुरा खुलाइएको छैन। भिडिओको कोरियोग्राफी किरण थापाले गरेका हुन्।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुति रहेको फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। निर्देशक लामा र दीपकराज गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन्। फिल्ममा दीपाश्री निरौला सल्लाहकारका रूपमा रहेकी छिन्।
फिल्ममा दीपकराज, केकी र सनिशासँगै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छ। फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन्।
'छ माया छपक्कै २' असोज ३१ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउनेछ।