निर्देशक दीपेन्द्र के.खनालले नयाँ फिल्म 'श्रीमान् श्रीमती'को छायांकन गुपचुप रूपमा अघि बढाएका छन्।
कुनै औपचारिक घोषणा नगरी सुरू गरिएको फिल्म छायांकन अहिले अन्तिम चरणमा पुगेको छ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिए। निर्माण टिमले फिल्मको छायांकनलाई सकेसम्म गोप्य राख्दै काम अघि बढाएको हो।
पटकथा प्रोडक्सन र टुकी आट्र्सको प्रस्तुतिमा बन्न लागेको फिल्म पारिवारिक कथामा आधारित हुनेछ। फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन्।
सामाजिक तथा गम्भीर विषयमा फिल्म बनाउँदै आएका खनालले यसपटक भने पारिवारिक कथामा काम गरेका छन्। उनका अनुसार फिल्ममा दर्शकले आफूलाई जोड्न सक्ने कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
'दर्शकले मन पराउने मिठो कथामा सिनेमा बन्दैछ। आशा छ, दर्शकले मन पराउनु हुनेछ,' खनालले भने, 'हामीले इमान्दार भएर सिनेमा बनाउने हो। इमान्दार भएर बनाइएको सिनेमा दर्शकको रोजाइमा पर्छ भन्ने विश्वास छ।'
फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। छायांकन सकिएपछि पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ।
खनाल निर्देशित पछिल्लो रिलिज फिल्म 'हरिबहादुरको जुत्ता' हो। उनले 'क्याप्टेन साब'को पनि छायांकन सम्पन्न गरिसकेका छन्। यो फिल्म प्रदर्शनमा आउन बाँकी छ।