बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'किङ' को दुबईमा तय गरिएको छायांकन तालिका सुरक्षा कारणले स्थगित गरिएको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव, विशेषगरी इरान-इजरायलबीचको द्वन्द्वका कारण सम्भावित सुरक्षा जोखिम बढेपछि निर्माण टोलीले छायांकन रद्द गर्ने निर्णय गरेको हो।
फिल्मका निर्देशक सिद्धार्थ आनन्दको योजनाअनुसार शाहरूख खान, सुहाना खान र अनिल कपूरलाई समावेश गर्ने एउटा प्रमुख एक्सन दृश्य दुबईको मरूभूमिमा छायांकन गर्ने तालिका थियो। यसका लागि सबै अनुमति र औपचारिकताहरू पूरा भइसकेका थिए।
अप्रिल ९ मा छायांकन सुरू हुने र उक्त छायांकन केही दिनसम्म सञ्चालन गर्ने तालिका बनाइएको थियो। तर क्षेत्रीय सुरक्षाको अवस्था अस्थिर बन्दै गएपछि कलाकार तथा प्राविधिक टोलीको सुरक्षालाई प्राथमिकतामा राख्दै दुबईको सम्पूर्ण छायांकन कार्यक्रम स्थगित गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
अब सो दृश्य भारतको मुम्बईस्थित एक स्टुडिओमा सेट निर्माण गरेर छायांकन गरिने निर्माण पक्षले जनाएको छ। स्टुडिओ छायांकनले एक्सन र लाइटिङमा राम्रो ध्यान केन्द्रित हुने बताइएको छ।
फिल्म 'किङ' को छायांकन मे २०२५ सुरू गरिएको थियो। यसको महत्वपूर्ण भाग मुम्बईको मेहबूब स्टुडिओमा छायांकन गरिएको थियो। जेलको एक दृश्यमा २०० स्टन्टम्यानहरूसँग छायांकन गरिएको बताइएको छ। जुलाई २०२५ मा शाहरुख खान विले पार्लेको गोल्डेन टोब्याको फ्याक्ट्रीमा एक एक्सन दृश्यको छायांकनका क्रममा घाइते भएका थिए। त्यसपछि उनी उपचारको लागि संयुक्त राज्य अमेरिका गएका थिए। त्यसबेला छ हप्ताको लागि छायांकन रोकिएको थियो।
फिल्म 'किङ' मा शाहरूख खान, अभिषेक बच्चन, दीपिका पादुकोण, सुहाना खान र अनिल कपूरको अभिनय छ। अभिषेक बच्चनले नकारात्मक भूमिका निभाएका छन्। फिल्म डिसेम्बर २४, २०२६ मा प्रदर्शन हुनेछ।
यो वर्षकै प्रतिक्षित फिल्म मानिएको छ।