बलिउड अभिनेत्री आलिया भट्ट र शर्वरी अभिनीत फिल्म 'अल्फा'ले विश्वव्यापी रूपमा ५७.६० करोड भारू कमाएको छ।
यशराज फिल्मस्को स्पाइ युनिभर्सको 'अल्फा'ले प्रदर्शनको पहिलो तीन दिनमा उक्त कमाइ गरेको हो। यशराज फिल्मस्ले सामाजिक सञ्जाल पोस्टमार्फत यसबारे जानकारी दिएको छ।
यससँगै फिल्मले आलियाको अघिल्लो फिल्म ‘जिग्रा’को ५५ करोड भारूको लाइफटाइम कमाइलाई उछिनेको छ।
भारतमा ९ हजार स्क्रिनमा प्रदर्शनमा आएको 'अल्फा'ले पहिलो दिन ९.२५ करोड भारू नेट कमाइ गरेको थियो। शनिबार र आइतबार कमाइमा वृद्धि हुँदै फिल्मको पहिलो सप्ताहान्तसम्म घरेलु कमाइ ३४.५० करोड भारू नेट (४१.७६ करोड ग्रस) पुगेको छ।
विदेशी बजारमा फिल्मले पहिलो तीन दिनमा १५.८४ करोड भारू कमाउँदै विश्वव्यापी ग्रस कलेक्सन ५७.६० करोड रूपैयाँ पुर्याएको हो।
'अल्फा'ले आलिया भट्टका चर्चित फिल्म 'गंगुबाई काठियावाडी' र 'राजी'को सुरूआती सप्ताहान्त कमाइलाई पनि उछिनेको छ। 'गंगुबाई काठियावाडी'ले पहिलो सप्ताहन्तमा विश्वव्यापी ५५ करोड र 'राजी'ले ४३ करोड भारू कमाइ गरेको थियो।
यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा भने 'अल्फा'को प्रदर्शन निकै कमजोर मानिएको छ।
शिव रवैलद्वारा निर्देशित 'अल्फा'मा आलिया र शर्वरीसँगै बबी देओल र अनिल कपूरको पनि मुख्य भूमिका छ। फिल्ममा ऋतिक रोशनले 'वार' शृंखलाको आफ्नो चर्चित पात्रमा विशेष उपस्थितिसमेत जनाएका छन्।
'अल्फा' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।