बलिउड अभिनेता सलमान खानको प्रतीक्षित फिल्म 'मातृभूमि'ले प्रदर्शनको बाटो खोल्ने महत्वपूर्ण स्वीकृति पाएको छ।
निर्माण पक्षले परिमार्जनसहित बुझाएको नयाँ संस्करणलाई भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका अधिकारीले स्वीकृति दिँदै 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) दिएका छन्।
यो फिल्म 'ब्याटल अफ गलवान' नाममा घोषणा गरिएको थियो। सन् २०२० मा भारत र चीनका सैनिकबीच भएको गलवान द्वन्द्वमा आधारित फिल्मको विषयवस्तु र त्यसमा चीनको प्रस्तुतिलाई लिएर सरकारी तहमा चासो देखाइएको थियो। यही कारण यसअघि नै रिलिज हुने तयारी रहे पनि ढिलाइ भएको थियो।
पछिल्लो समय भारत र चीनबीचको सम्बन्धमा सुधार आएको अवस्थामा फिल्मको विषयवस्तुलाई लिएर निर्माण पक्षले आवश्यक परिमार्जन गरेको बलिउड हंगामाले जनाएको छ।
बलिउड हंगामासँग कुरा गर्दै एक स्रोतले नयाँ संस्करणबाट अधिकारीहरू सन्तुष्ट भएपछि गत साता फिल्मलाई एनओसी दिइएको बताएको छ। यसको अर्थ फिल्म अब सेन्सर प्रक्रियापछि हलमा प्रदर्शनका लागि अगाडि बढ्न सक्ने भएको हो।
रिपोर्टअनुसार सलमान खानले फिल्मलाई आगामी नोभेम्बर १३ मा रिलिज गर्ने तयारी गरिरहेका छन्। दीपावलीपछिको समय दर्शकहरू अझै उत्सवको मुडमा हुने भएकाले उक्त मिति फिल्मका लागि उपयुक्त हुने सलमानको विश्वास रहेको स्रोतको दाबी छ।
यद्यपि, फिल्मले केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी)बाट प्रमाणपत्र पाउन बाँकी छ। निर्माण पक्षले छिट्टै फिल्मलाई सेन्सरका लागि बुझाउने तयारी गरेको बताइएको छ। यो प्रक्रिया यसै महिनाभित्र पूरा भएमा नोभेम्बर १३ को रिलिज सम्भावना बलियो हुने रिपोर्टमा उल्लेख छ।
फिल्ममा सरकारी निर्देशनअनुसार ठूलो परिवर्तन गरिएको पनि स्रोतले जनाएको छ। 'मातृभूमि'को नयाँ संस्करण पुरानो संस्करणको तुलनामा निकै फरक रहेको र यसमा भारत–चीन सम्बन्धको सकारात्मक पक्षलाई समेत प्रस्तुत गरिएको बताइएको छ।
'मातृभूमि'मा नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन्। सलमान खानसँगै चित्रांगदा सिंहको पनि फिल्ममा मुख्य भूमिका छ।
फिल्मको निर्देशक अपूर्व लाखिया हुन्।