सुधीर शर्माद्वारा लिखित ‘भिक्षु, व्यापार र विद्रोह’ कृति नेपाल र चीनबीचको सम्बन्धका ऐतिहासिक आरोह अवरोह दर्साउने एउटा आँखी झ्याल हो।
२०८१ भदौमा ‘किताब पब्लिसर’ले प्रकाशन गरेको यो कृति निकै महत्वपूर्ण भएर पनि नेपाली सञ्चार क्षेत्रमा कम समीक्षा हुनु दुःखद पक्ष हो। ३७६ पृष्ठको यो पुस्तकमा ९९ पृष्ठ त इन्डनोट्सले भरिएका छन्।
दर्जीले सिलाएर बचेका कपडाका टुक्राटाक्री भेला गरेर कुनै पोशाक बनाएमा नयाँ फेसन बनेजस्तै इतिहासका कुनाकाप्चाबाट बुँदहरू भेला गरेर शुधीर शर्माले ठूलो तलाउका रूपमा सिर्जना गरेका हुन् यो कृति।
यो कृति लेख्नका लागि शर्माले दर्जनौं ऐतिहासिक कृतिहरू पढेर त्यहाँबाट महत्वपूर्ण अंश उद्धृत गरेका छन्। त्यत्तिकै संख्यामा विभिन्न व्यक्तिहरूसँग अन्तर्वार्ता लिएका छन्। दर्जनौँ किताबबाट प्राप्त हुने ज्ञान एउटै कृतिबाट प्राप्त हुनसक्छ।
नेपाल र चीनबीचको सम्बन्धमा चासो राख्ने व्यक्ति, यसको इतिहासको ज्ञान, चीनको सहयोग तथा मतभेद जस्ता कुरामा दिलचस्पी हुने व्यक्तिका लागि यो किताब गीता, कुरान, त्रिपिटक वा बाइबल जत्तिकै संग्रहयोग्य छ।
नेपालको भूमि छिमेकी मुलुकका विरूद्धमा कसरी प्रयोग हुन्छ भन्ने कुरा 'सर्कस' उपशीर्षकमा निकै मज्जाले विश्लेषण गरेका छन् शर्माले।
यो उपशीर्षकको सार्थकता त छँदैछ किनभने अमेरिकाले चलाएको एउटा गोप्य मिसनको नाम हो ‘सर्कस’। तर यसले चोटिलो व्यङ्ग्य पनि गरेको छ नेपाल र नेपालीलाई।
हाम्रै भूमिबाट केकस्ता गतिविधि भइरहेका छन् भनेर थाहा नपाउने हामी साँच्चै सर्कसका हाँस्य पात्र जस्तै छौँ।
केही समय अगाडि पत्रकारहरूको एउटा टोलीमा सहभागी भएर सिचाङ (तिब्बत) को पश्चिम भागको भ्रमण गर्ने अवसर प्राप्त भएको थियो। भ्रमणका क्रममा हुम्लाको हिल्सा नाकादेखि २७ किलोमिटर उत्तरमा रहेको चिनियाँ बजार ताक्लाकोटमा पुग्दा सबैतिर नेपाली पसलमात्र देखिए। त्यहाँ दुई सयभन्दा बढी नेपालीका पसल रहेछन्। पसलमा बेच्न राखिएका सबैजसो सामान नेपाली। कुराकानीका क्रममा एक जना व्यापारीले काठका फुरु देखाउँदै भने 'यी सामान हामी नेपाली भनेर बेच्छौँ तर आउने चाहिँ भारतबाट हो।'
यस्तो 'बेइमानी' धेरै पहिलेदेखि रहेछ भन्ने कुरा चाहिँ शर्माको यो किताबमा पनि उल्लेख छ। पृष्ठ ८७ मा शर्माले लेखेका छन्: 'नेपाली टोलीले बादशाहका लागि मुगाका माला, किमखाप भनिने विशेष प्रकारको कपडा, मसला, कलात्मक ढंगले बनाइएका तरबार, खुकुरी र बन्दुक, गैँडाका खाग, हात्तीका दाँत आदि सौगातहरू लिएर गएका हुन्थे। चिनियाँ विवरणमा तिनलाई नेपालको स्थानीय उत्पादन भनिए पनि खासमा अधिकांश सामान पटना वा बनारसबाट किनेर ल्याइएका हुन्थे। अर्थात्, चीनका बादशाहकहाँ भारतीय सामान नेपालको सौगात भन्दै पुर्याउने गरिन्थ्यो।'
पृष्ठ १५२ र १५३ को प्रसंग यहाँ उल्लेख गर्न योग्य छ। त्यहाँ लेखिएको छ: 'चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने तयारी गरिरहेका बेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चीनको भ्रमण गरेका थिए। त्यस सम्बन्धमा चाउको प्रस्तावमा नेहरूले नेपालसँग चीनले कूटनीतिक सम्बन्ध राख्न नसक्ने तीनवटा कारण देखाएका थिए।
पहिलो, यस बेला राजा त्रिभुवन उपचारका लागि स्विट्जरल्यान्डमा छन् र नेपालको घरेलु स्थिति स्थिर छैन।
दोस्रो, सन् १९५० को सन्धिमुताबिक नेपालले आफ्नो वैदेशिक नीतिका सम्बन्धमा भरतसँग परामर्श लिनुपर्ने हुन्छ। (अर्थात् भारतको सहमतिबेगर चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्दैन।)
तेस्रो, चीनले काठमाडौंमा दूतावास खोल्यो भने अमेरिकाले पनि त्यसै गर्नेछ र त्यो भारत चीन दुवैका निम्ति टाउको दुखाइको विषय बन्नेछ।'
यो प्रसंगले नेपालमाथि भारतको हेपाहा दृष्टिकोण र प्रभुत्व लाद्ने मनसायको पर्दाफास हुन्छ। नेपाललाई भारतले भुटान जस्तै गाँज्न खोजेको कुरा उक्त संवादले पुष्टि गरेको छ। उबेलादेखि नै भारत-चीन विरूद्ध अमेरिका कार्ड र अमेरिका विरूद्ध चिनियाँ कार्ड खेलिरहेको रहेछ। हिजोआज त यस्तो कार्य भारतले अझै बढाएको छ।
पुस्तकको पृष्ठ १६५ मा एउटा प्रसंग उल्लेख छ। यो प्रसंगले अहिले हिमालय सीमापार गराउने चिनियाँ रेलको कुरालाई पनि प्रतिनिधित्व गरेको छ। धेरै नेपालीको सपना काठमाडौंमा चिनियाँ रेल गुडोस् भन्ने हो। तर केरूङदेखि काठमाडौं पुर्याउने रेलका लागि स्रोत जुटाउन नेपालका लागि कठिन रहेको कुरा विज्ञबाट सुनिँदै आएको छ।
उक्त पृष्ठमा लेखिएको छ: 'बीपी र माओबीच ल्हासा काठमाडौं मोटरमार्ग बनाउने कुरामा पनि मतैक्य देखिएन। भारतसँग सीमा विवाद बढेपछि चीन नेपालतर्फ बाटो खोल्न हतारिएको थियो। त्यही भएर माओले त्यस सडकको कुरा झिके, तर बीपीले स्रोतको कमी देखाउँदै त्यसलाई प्राथमिकतामा राख्न चाहेनन्। अनि माओले असन्तुष्टि जनाए जसरी भने, 'एक वर्ष, १० वर्ष वा २० वर्षमा, ढिलो या चाँडो हामीबीच सीधा सडक हुनैपर्छ।'
यस्तै प्रतिबद्धता अहिले चिनियाँ रेललाई काठमाडौं पुर्याउनका लागि चीनले गरिरहेको छ तर हामी पानी मरूवाका चालमा पछाडि हटिरहेका छौँ।
त्यसैगरी पृष्ठ १८० र १८१ मा अरनिको राजमार्ग निर्माण र महेन्द्रको एउटा ऐतिहासिक भनाइ उल्लेख छ। धेरैतिर प्रयोग भएको महेन्द्रको भनाइको पृष्ठभूमि र व्यक्त गर्नुपर्ने कारण यस्तो रहेछ: 'त्यसबेला भारत र अमेरिकाले रिजनल ट्रान्सपोर्ट अर्गनाइजेसन बनाएर सडक निर्मणमा नेपाललाई संयुक्त रूपमा सघाउँदै थिए। त्यही अवसरमा कम्युनिस्ट चीनले राजमार्ग निर्माणमा हात हालेपछि त्यसले ठूलै तरंग उत्पन्न गर्यो। कोदारीमा सडक खन्न फौजी पोसाक लगाएका चाइनिज रोड कन्स्ट्रक्सन बटालियनका करिब ५०० सैनिक आएका थिए। तिनलाई देखेर भारतीय र पश्चिमा मिडियाले त्यो बाटो भएर चिनियाँ साम्यवाद भित्रिने प्रचार गर्न थाले।
जबाफ राजा महेन्द्र आफैले दिए। 'सुन्दछु काठमाडौं ल्हासा मार्गबाट कम्युनिज्मलाई निम्त्याएझैँ हुन्छ रे', महेन्द्रले २०१८ मंसिर ३ गते पोखरामा एउटा बाँध उद्घाटन गर्दै भने 'मलाई हाँसो उठ्छ, कम्युनिज्म ट्याक्सी चढेर पस्दछ भन्छन् भने त त्यस्ता संकीर्ण भावना मात्र लिएर एकोहोरो बोल्नेहरूलाई मेरो कुनै जबाफ छैन; त्यस्ताहरूप्रति खेदपूर्ण सहानुभूतिसम्म प्रकट गर्न सक्छु।'
छुटेका विषय
यस पुस्तकमा केही कुरा छुटेका छन्। अथवा यसरी भनौं केही कुरा थप गरिएको भए सुनमा सुगन्ध हुने थियो।
बेइजिङमा रहेको लामा मन्दिरका बारेमा लेखकले निकै मेहनत गरेर नयाँ कुराको उजागर गरेका छन्। लामा मन्दिरमा रहेको मैत्रेय बुद्धको मूर्तिका बारेमा उनले पृष्ठ ११० मा लेखेका छन्:
'लामा मन्दिरमाथि विद्यावारिधि शोध गरेका केभिन ग्रीनवुडका अनुसार, छियनलोङले तिब्बतका तत्कालीन शासक ह्पोहाने सोनाम तोव्ग्येमार्फत नेपाल उपत्यकाबाट ६ जना उत्कृष्ट वास्तुकार झिकाएका थिए, Cadama, Balusing, G'abgg'ada, Yanag'ala, Damadibu र Balu। ती शिल्पकारहरू नेपालबाट ल्हासा हुँदै लामो यात्रा पार गरेर १८०१ असोज २२ गते बेइजिङ पुगेका थिए, जुन बेला काठमाडौंमा राजा जयप्रकाश मल्लको शासन चल्दै थियो। ती कलाकारले छिङ दरवारलाई तीन वर्षभित्रमा मण्डल आकारको कलात्मक लामा मन्दिर परिसरमा रूपान्तरित गरे; बुद्धका नयाँ मूर्तिहरू बनाए र चिनियाँ कलाकारहरूलाई नेपाली शैलीका कलाकृति बनाउन तालिम दिने काम समेत गरे।'
लेखकका अनुसार लामा मन्दिरभित्रको मैत्रेय बुद्धको मूर्ति कसले बनायो भन्ने कुरा स्पष्ट नभए पनि लामा मन्दिर चाहिँ नेपाली कालिगडले बनाएका हुन्।
कपिलवस्तुबाट लगिएको चन्दनको मुढाबाट बनेको मैत्रेय बुद्धको मूर्ति ८ मिटर जमिनमुनि रहेको छ भने १८ मिटर जमिन माथि रहेको छ। मन्दिरको बाहिरी भित्तामा राखिएको गिनिज बुकको रेकर्ड अनुसार एउटै रूखको काठबाट बनेको यो विश्वकै सबभन्दा ठूलो काष्ठमूर्ति पनि हो। यो रेकर्ड र कपिलवस्तुको नाम लेखकको छुटाएका छन्।
'लामा मन्दिरको पुछारपट्टि मैत्रेय बुद्धको एउटा भव्य काष्ठमूर्ति रहेको' उल्लेख गरेका छन्। खासमा पुछारपट्टि होइन सिरानपट्टि चाहिँ हो। लामा मन्दिरको प्रवेशद्वार दक्षिणपट्टि छ र मन्दिरको सबभन्दा सिरानमा अर्थात् उत्तरतिर मैत्रेय बुद्धको काष्ठमूर्ति रहेको छ।
आफ्नो पोष्टकास्टमा ९ महिना अगाडि यही किताबलाई उल्लेख गर्दै शर्माले लामा मन्दिर बनाउने कलाकारका बारेमा निकै विस्तृतमा बताएका छन्। उनीहरूको पारिश्रमिक र सुविधाका बारेमा पनि उनले व्याख्या गरेका छन्। तर किताबमा यी कुराहरू छैनन्। उही स्रोत र उही व्यक्तिका सिर्जना भएकाले यस्ता महत्वपूर्ण कुरा किताबमा समेटेको भए किताब अझै गहकिलो हुने थियो।
यसैगरी किताबमा उल्लेख भएको तर निकै निम्छरो प्रस्तुति रहेको भाग चीनको उथाइशानका बारेमा हो। पृष्ठ ११४ मा लेखकले लेखेका छन् 'त्यही भएर १३ औँ शताब्दीमा चीन गएका अरनिकोलाई त्यस ठाउँ (उथाइशान) ले निकै तानेको थियो। उनले त्यहाँ दुइटा चैत्य बनाउनुका साथै पटकपटक गरी १३ वर्ष बिताएका थिए। अरनिकोपछि सायद अरू नेपाली उथाइशान पुगेकै थिएनन्। त्यसैले मञ्जुश्री 'कोही जान नसक्ने टाढा चीनको दुरूह पर्वतमा बस्छन्' भन्ने लोकविश्वास काठमाडौंमा व्याप्त थियो।'
उथाइशान चीनको वल्लो शान्षी प्रान्तमा रहेको छ। नेपाली उच्चारण उही हुने अर्को पनि शान्षी प्रान्त रहेकाले बेइजिङदेखि नजिकै रहेको शान्षीलाई वल्लो शान्षी भनिन्छ भने अलिक टाढा रहेको शान्षीलाई पल्लो शान्षी भनिन्छ।
बेइजिङबाट २७० किलिमिटर पश्चिममा रहेको उथाइशानको नेपाली अनुवाद पञ्चशीर्ष पहाड हुन्छ। यो चीनको उत्तरी क्षेत्रको सबैभन्दा उच्च भूभाग पनि हो। नेपाल र चीनलाई सबभन्दा पहिले जोड्ने ठाउँ पनि यही उथाइशान नै हो। त्यसकारण दुई देशबीचको सम्बन्धमा यसको निकै ठूलो योगदान रहेको छ।
मन्जुश्री उथाइशानबाट नै काठमाडौं आएर चोभारमा काटेर पोखरीको पानी पटाएको कथा त सबै नेपालीलाई थाहा भएकै कुरा हो। तर नेपालीहरूले नसुनेको थुप्रै कथा उथाइशानसँग रहेको छ। त्यहाँ सिद्धार्थ गौतम (भगवान गौतम बुद्ध) का छोरा राहुलका नाममा एउटा भव्य मन्दिर छ। राहुलको नाममा रहेको यो विश्वकै एक मात्र मन्दिर हो। उक्त मन्दिर राहुलकै अस्थिमाथि बनाइएको हो।
उथाइशानमा अरनिकोले निर्माण गरेको विशाल श्वेत चैत्यकै छेउमा पुनिङ (अहिलेको नाम युआनचाओ) गुम्बामा तान्त्रिक पुजारीका रूपमा एकजना प्रख्यात नेपाली भिक्षु बसेका थिए। युआनचाओ गुम्बा चीनका मिङ वंश र छिङ वंशको शासनकालमा चिनियाँ बादशाहले पूजा गर्ने शाही गुम्बा थियो।
त्यस्तो ख्यातिप्राप्त मन्दिरका नेपाली पुजारी थिए सलिशा। नेपाली तान्त्रिक भिक्षु सलिशा (जीवनकाल सन् १३३५ - १४२६) ले उथाइशानमा पुगेर तन्त्रविद्यामा गरेको योगदानको शर्माले यस पुस्तकमा कतै उल्लेख गरेका छैन। चिनियाँ स्रोतहरूमा सलिशाका अन्य नाम पनि रहेका छन्। उनको कति ख्याति थियो भने उनलाई चिनियाँ वादशाहबाट 'महान राष्ट्रिय गुरू' उपाधि र सुनको छाप तथा विशाल खजाना ब्यानर प्रदान गरिएको थियो।
उथाइशानमा बसिरहेका सलिशालाई बादशाहले बेइजिङमा बोलाए। उनी सन् १४०३ देखि जीवनपर्यन्त १४२४ सम्म बेइजिङमै बसे। बेइजिङमा बस्ता उनले 'टेम्पल अफ ट्रान्क्विलिटी' अर्थात् पाँचवटा टावरको मन्दिर बनाए। यो मन्दिर अहिले पनि बेइजिङमा संरक्षित छ। सन् १४२६ मा ९० वर्षीय नेपाली भिक्षु सलिशाको बेइजिङमा मृत्यु भयो। उनको अस्थिलाई बेइजिङ र उथाइशानमा लगेर बिर्सजन गरियो।
बेइजिङमा त्यही पञ्चप्यागोडा मन्दिर नजिक उनको अस्थि विसर्जन गरियो भने उथाइशानमा लगेर उनले ध्यान गरेको गुम्बा युआनचाओको बाहिरपट्टि विसर्जन गरियो र त्यहाँ पाँच मिटर अग्लो वज्र सिंहासनको शैलीमा सेतो प्यागोडा बनाइयो। गहन शोध र ठूलो अनुसन्धान गरेर लेखिएको पुस्तकमा यस्तो महत्वपूर्ण तथ्य छुट्दा किताब थोतो भएको महसुस हुन्छ।
मानवीय त्रुटि
प्रशंसनीय र गहकिलो हुँदाहुँदै पनि त्रुटिरहित हुन सकेको छैन यो कृति। पृष्ठ १११ मा लेखिएको छ: 'विसं १३१८ तिर शाक्य गुम्बा पुगेका अरनिकोले दुई वर्षमा यति राम्रो सुवर्ण चैत्य बनाइदिए कि त्यसबाट प्रभावित भएका पाहस्पाले उनलाई युवानवंशीय मङ्गोल बादशाह कुब्लाई खाँको नवनिर्मित तातु (हालको बेइजिङ) दरवारमा लिएर गए।'
खासमा अरनिकोलाई कुब्लाई खाँको राजधानी तातु होइन शाङ्तु (हालको भित्री मङ्गोलिया) लगिएको थियो। अरनिको कुब्लाई खाँको दरबारमा पुगेको समय सन् १२६१ मा हो। कुब्लाई खाँले तातु (हालको बेइजिङ)लाई राजधानी बनाएको चाहिँ १२७१ मा मात्र हो। कुब्लाई खाँको बेइजिङलाई राजधानी बनाउने मुख्य टोलीका एक सदस्य थिए अरनिको।
पृष्ठ १२८ देखि १३६ सम्म उल्लेख गरिएको के आई सिंह र गौरीभक्त प्रधानको सन्दर्भ निकै महत्वपूर्ण छ। किनभने यसले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धको एउटा पाटोलाई समाएको छ। यसपछि पृष्ठ १४३ र १४४ मा पूर्णबहादुर एमएको प्रसंग उल्लेख छ। तर लेखकले पूर्णबहादुर एमएका बारेमा शब्द खर्च गर्न अलिक लोभ गरेका छन्।
नेपाल चीन मैत्री सम्बन्धमा पूर्णबहादुर एमएको योगदान यस्तो मानिन्छ जो जनस्तरबाट न त त्यसभन्दा अगाडि भएको थियो न त्यसपछि नै हुनेछ। पूर्णबहादुर एमएको तुलना मल्ल के सुन्दर र मिलन तुलाधरसँग हुनै सक्दैन। तर लेखकले मल्ल र तुलाधरका लागि जति शब्द खर्चेका छन् पूर्णबहादुर एमएका बारेमा कन्जुस्याइँ गरेका छन् भन्दा अत्युक्ति हुँदैन। त्यसो त उनले पूर्णबहादुर एमएका बारेमा धेरै जानकारी नपाएका पनि हुन सक्छन्।
‘भिक्षु, व्यापार र विद्रोह’ किताबमा चिनियाँ व्यक्तिका नाम चिनियाँ ठाउँका नामलाई चिनियाँ उच्चारण अनुसार नै लेख्ने प्रयास गरिएको छ। अहिलेसम्म नेपालबाट प्रकाशित पुस्तकमा चिनियाँ उच्चारणका नामलाई शुद्धसँग प्रयोग गरिएको पहिलो प्रयास हुनसक्छ।
लेखकले प्रयोग गरेका चिनियाँ नेताका नाममा तङ स्याओफिङ, हु चिनथाओ, च्याङ चमिन, सी चिनफिङ शुद्ध छन्। तर उनले केही नामलाई हेलचेक्र्याइँ गरेर फेरि नेपाली उच्चारण अनुसार नै बिगारेका पनि छन्।
उदाहरणका लागि पूर्व चिनियाँ प्रधानमन्त्री चु रोङचीलाई झु रोङ्जी लेखेका छन् भने अर्का प्रधानमन्त्री वन चिया पाओलाई वेन जिया बाओ लेखेका छन्। सबैभन्दा ठूलो कुरा त उनले जतासुकै ‘माओत्सेतुङ’ लेखेका छन्। खासमा ‘माओ चतोङ’ हो। पूर्व चिनियाँ राजदूतका नाम प्रायको शुद्ध लेखे पनि ली तपिआउको नामलाई चाहिँ ली दपिआउ लेखेका छन्।
पुस्तकमा प्रविष्ठ अधिकांश चिनियाँ ठाउँका नाम चिनियाँ उच्चारण अनुसार शुद्ध नै भए पनि ग्वाङजाउ र बोआओ लेखेर दाँतमा ढुङ्गा लाग्ने अवस्था सिर्जना गरेका छन् लेखकले।
अनौठो कुरा चाहिँ के छ भने लेखकले चीनको एउटा ठाउँको न्वारान पनि गरेका छन्। अहिलेसम्म हामीले लेख्दै र बोल्दै आएको ‘ल्हासा’ लाई उनले ‘ह्लासा’ बनाएका छन्। किन यस्तो गरे भन्ने कुराको जबाफ त लेखक स्वयंले जान्ने कुरा हो।
लामो समयको खोजबिन र मेहनतका साथ सिर्जित कृतिमा उल्लिखित त्रुटिलाई मानवीय कैफियतका रूपमा बुझेर पुस्तकको प्रशंसा गर्दा उचित हुनेछ।