गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा परेपछि थप चर्चामा छन्।
संगीत र फिल्ममा व्यस्त उनले राजनीतिमा आउनेबारे यसअघि कहिल्यै खुलाएका थिएनन्। त्यही भएर पनि उनी समानुपातिक उम्मेदवार बनेपछि शुभचिन्तक तथा स्रोता-दर्शकले 'सरप्राइज' का रूपमा रूपमा लिए।
सेतोपाटी कन्भरसेसनमा अभिनेता दयाहाङ राईसँग भिडिओ कुरा गर्दै प्रकाशले आफ्नो राजनीतिक प्रवेशबारे भनाइ राखेका छन्।
कलाकारितामार्फत सामाजिक विषय उठाउँदै आएका प्रकाशले नेपाली राजनीतिक परिवेश हेर्दा आफूजस्ता सोझा व्यक्तिलाई सजिलो क्षेत्र नभएको बताए।
'नेपाली राजनीतिको चित्र हेर्दा हामीजस्तो सोझो व्यक्तिले गर्न सक्ने काम त होइन। मलाई पनि राजनीति गर्न सक्छु भन्ने आत्मविश्वास छैन। तर नीति निर्माण गर्ने तहमा पुगियो भने हाम्रो आवाज सुनिन्छ कि भन्ने आशा छ,' उनले भने।
प्रकाशको बुझाइमा राजनीति मूलतः देश चलाउने प्रक्रिया भए पनि यसलाई व्यक्तिगत फाइदा र अवसरको खेलजस्तो बनाइएकाले आम मानिसमा नकारात्मक छाप परेको उनले बताए।
उनले भने, 'राजनीतिलाई पेसा बनाएर अवसर र फाइदाका लागि प्रयोग गरिँदा अब यसले पनि हाम्रो लागि केही गर्दैन भन्ने भाष्य स्थापित भयो। यसले पनि मलाई यो क्षेत्र निकै कम्लिकेटेड लाग्छ।'
उनले रास्वपामा आफू अनौपचारिक रूपले आबद्ध भएको बताए। नयाँ समूहले केही फरक गर्न सकिन्छ भन्ने विश्वास पनि व्यक्त गरे।
'म त धेरै तल्लो नम्बरमा पर्छु होला,' उनले भने, 'समुदायका हिसाबले पनि, कला क्षेत्र र लोकप्रियताका हिसाबले पनि सम्भवतः धेरै जनालाई उहाँहरूले प्रस्ताव गर्नुभयो। तर धेरैले आँट गर्नुभएन।'
प्रकाशका अनुसार राजनीतिमा लाग्दा करिअर बिग्रने, बदनाम भइने र भविष्य असुरक्षित हुने डरले सक्षम र इच्छुक व्यक्तिहरू पछि हट्ने अवस्था छ।
'देशको सेवा गर्ने मन छ, केही दिन सक्ने क्षमता पनि छ, ज्ञान र रूचि पनि छ, तर यो रेसमा दौडिन सकिँदैन भन्ने मानसिकताले पछाडि नै बस्ने प्रवृत्ति देखिएको छ,' उनले भने।
उनले अगाडि भने, 'अहिले राजनीतिमा लाग्दा नामै जान्छ कि भन्ने हिसाबले सोच बनाइएको छ। यो गलत हो। आएर केही राम्रो काम गरियो भने राजनीति पनि बिस्तारै सङ्लिँदै जान्छ भन्ने आशा गर्नुपर्छ।'
समाज, संगत र फिल्मबारे प्रकाश सपुतले दयाहाङ राईसँग गरेको 'सेतोपाटी कन्भरसेसन' छिट्टै प्रसारण हुँदैछ।