नेपालमा 'अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल' आयोजना हुने भएको छ।
यो प्रकारको फेस्टिभल नेपालमा पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ। जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्चको शैली बुटोहलाई केन्द्रमा राखेर पोखरामा तीनदिने महोत्सव हुन लागेको हो।
कास्कीको पोखरास्थित काव्यवाटिका, पुम्दीमा असोज ३० देखि कात्तिक १ गतेसम्म आयोजना हुने महोत्सवमा सात देशका कलाकारले विभिन्न प्रस्तुति दिने आयोजकले जनाएको छ।
महोत्सव अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालको संयुक्त सहकार्यमा आयोजना हुन लागेको हो। महोत्सवको नेतृत्व किरण चापागाईं, केदारनाथ पौडेल, भीष्म राज जोशी र राम केएसीले गर्नेछन्।
बुटोह जापानमा विकसित भएको प्रयोगात्मक डान्स थिएटर तथा फिजिकल थिएटरको एक शैली हो। यसको कुनै निश्चित शैली वा कथा संरचना हुँदैन। आयोजकका अनुसार शरीरको गति, मौनता, समय, संवेदना र भौतिक उपस्थितिमार्फत मानिसका भित्री अनुभूति तथा अस्तित्वसँग जोडिएका प्रश्नलाई अभिव्यक्त गर्नु बुटोहको प्रमुख विशेषता मानिन्छ।
दोस्रो विश्वयुद्धपछि जापानमा विकसित भएको बुटोहको उद्गम तत्कालीन सामाजिक, सांस्कृतिक र मानसिक उथलपुथलसँग जोडिएको छ।
हिरोशिमा र नागासाकीको विनाश, युद्धको स्मृति, मृत्यु, भय तथा आधुनिक समाजमा देखिएको संकटजस्ता अनुभवले बुटोहको संवेदनात्मक पृष्ठभूमि निर्माणमा प्रभाव पारेका थिए।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महोत्सवले शारीरिक अभिव्यक्ति र प्रयोगात्मक कलाका विभिन्न आयामबारे संवाद तथा सिर्जनात्मक आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
आर्ट घरका संस्थापक तथा महोत्सवका नेतृत्वकर्तामध्ये एक भीष्म राज जोशीले विभिन्न देशका कलाकारको सहभागिताले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय सिर्जनात्मक अभ्याससँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर मिल्ने बताए।
उनका अनुसार, महोत्सव नेपाली दर्शकका लागि पनि रंगमञ्चको फरक सौन्दर्य र अभिव्यक्तिसँग परिचित हुने अवसर बन्नेछ। साथै, विभिन्न देशका कलाकारबीच अनुभव, अभ्यास र सिर्जनात्मक दृष्टिकोण आदानप्रदानका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार पाहुना कलाकारहरू काव्यवाटिकामा अभ्यासमा व्यस्त रहेका छन् भने फेस्टिभलको अन्तिम तयारी भइरहेको छ।