बिहानीको मीठो चिसो स्पर्शभित्र हामी 'उत्तरेपोखरी काव्यप्रभात' मा व्यस्त भयौँ। कविता वाचनको सिलसिला निकै लामो चल्यो। सुभाष सरले निकै चोटिलो कविता प्रवाह गर्नुभयो।
रेखा म्यामको कविताले सबैको मुटु रोकिएझैँ भयो। अनिताको कविताको गुल्जार नै अर्कै थियो। उत्तरेको पानीलाई तरङ्गित पार्ने कविताहरू सबै सबैले वाचन गर्नुभयो।
सविता बहिनीको सुन्दर कवितासँगै हेम सरले मीठो गीत गुन्गुनाउनुभयो। 'जहाँ ना पहुँचे रवि, वहाँ पहुँचे कवि' भनेझैँ उत्तरेपोखरीको डिलमा उभिएर मैले पनि ‘बालुवाको घर’ शीर्षकको कविता वाचन गरेकी थिएँ। यति घुम्दा पनि मलुपोखरी पुगेर आँखाले स्पर्श गर्ने अवसर भने प्राप्त भएन। सायद इलामले हामीलाई फेरि बोलाउने बाटो राखेको हुन सक्छ। हाम्रो मनलाई इलामले लगामझैँ खिचिरहेको छ।
हामीलाई समयका पाइलाले हतार लगाइरहेको थियो। उत्तरेलाई आँखाभरि टिलपिल पारेर हामी पुनः जंगलको बाटो फर्कियौँ। प्रभाती विचरणको कार्यक्रम सकेर दिउँसोको मुख्य कार्यक्रममा समयमै आइपुग्नुपर्ने थियो।
हामी हतारिँदै फर्किंदा बाटैमा घोडामा चढेको यलम्बरको मूर्ति भेट्यौँ। शक्तिको प्रतीक घोडाले यलम्बरलाई बडो शक्तिशाली देखाइरहेको थियो। कुनै इतिहासको पानामा सजाइएको शक्तिशाली वीर योद्धा, राजा महाराजाको तस्बिरजस्तो। घुम्दै माथि शिव मन्दिर, गुरूकुलसम्म पुग्यौँ। किराँत संस्कृतिको उधौली उभौली गर्ने, साकेला नाच्ने ठाउँ र गुरूकुल लगभग नजिकै रहेछ। सम्झिएँ, हामी नेपालीमा सहिष्णुताको भाव कति गहिरो छ। हामी सबैको सम्मान गर्छौँ, सबैको पूजा गर्छौँ।
कार्यक्रम हलमा स्थानीय र नजिकका अतिथिहरूको उपस्थिति बढेपछि हामीलाई कार्यक्रम स्थलबाट चाँडै आउन अनुरोध गर्दै फोन आयो। हतारिएर हामी पुग्यौँ कार्यक्रम कक्षमा। अग्रभागमा राखिएको आसनमा प्रमुख अतिथिको रूपमा वरिष्ठ कवि तथा आख्यानकार अनिता कोइराला, वरिष्ठ कवि सुभाष ढुंगेल, अर्का वरिष्ठ कवि रेखा सुवेदीका साथमा मैले पनि एउटा आसन ग्रहण गर्ने अवसर प्राप्त गरेँ। हल खचाखच थियो। सहभागी, आमन्त्रित, स्थानीय, आयोजक र प्रतियोगी विद्यालयका सहभागी।
हामी आआफ्नो भूमिकामा व्यस्त रह्यौँ। सुभाष सर, रेखा म्यामका साथमा मलाई निर्णायकको आसनमा सारियो। कार्यक्रम भव्य र सभ्य थियो। ती नानीबाबुका सुन्दर रचना, सिर्जनाले मलाई नतमस्तक बनाइरहेथ्यो। वर्णन गर्न लायक थियो कार्यक्रम। मलाई घरिघरि शान्तिनगरमा चन्द्र भण्डारी (चन्द्र मामा) हरूले गर्नुभएको कार्यक्रमको स्मृतिको पानाले कोट्याइरहेको थियो।
आफ्नै बाल्यकालले मलाई अतीतमा खिचिरहेको थियो। म बल गरेर वर्तमानमा उभिने कोसिस गरिरहेकी थिएँ। कार्यक्रमलाई रोशन काफ्ले सर र नारायण चँदारा सरले निकै सुन्दर ढंगले सञ्चालन गर्नुभएको थियो।
विद्यालय परिवार र स्थानीयको अग्रणी सहभागिताले साहित्यको महत्त्व माईजोगमाईले कसरी बुझेको छ भन्ने स्पष्ट देखाएको थियो। स्थानीयका सशक्त कविताले मञ्च अझ शोभायमान बनेको थियो। सबैको उत्तिकै उत्साह र जिज्ञासामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
थुम्केरानीलाई सम्झिँदै मस्तिष्कमा जिज्ञासाको कुन्यू लाग्दै थियो। यो थुम्केरानी देवीको नामकरण कसरी भयो होला? जिज्ञासालाई बाहिर ल्याउन सकेकै थिइनँ। प्रमुख अतिथिको आसनमा बसिरहनुभएका माईजोगमाई गा.पा.का पूर्वअध्यक्ष जीतबहादुर राई सरले बिस्तारै कुरोको चुरो खोल्नुभयो। यो थुम्के मात्र भनिने थुम्की परेको डाँडालाई गा.पा.को मेरो कार्यकालमा रानी जोडेर थुम्केरानी बनाएको हो भनी उहाँले भनिरहँदा लाग्यो साँच्चै यिनी रानी नै हुन्। पलपल रूप बदलेर अनेक रंगीन मौसम देखाउने इन्द्रेणी मौसमकी शाहजादी साँच्चै थुम्केकी रानी थुम्केरानी हुन्।
थुम्केको डाँडामा पोखरी पनि रहेको इतिहास बताउँदै उहाँ भन्नुहुन्छ, 'मैले त्यस पोखरीको संरक्षण गर्ने विशेष प्रयास गरेँ सकिनँ। त्यस पोखरीमा डुबेर एउटा बच्चाले ज्यान गुमाएपछि त्यो पुरिएको रहेछ।' सुनिरहेँ, म इतिहासको कक्षामा छु। माधव सरले इतिहास पढाइरहनुभएको छ। म जिज्ञासु भएर प्रश्न गर्छु, 'त्यस पोखरीको सुरक्षित संरक्षण गर्ने उपाय थिएन र जीतबहादुर सर ?'
'थियो नि म्याडम, तर सम्बन्धित निकायमा जो थिए उनीहरूलाई त्यही कुराले मात्र छोयो। यसमा सबै सुरक्षाको कार्य मेरै रोहवरमा भएको हो।' उहाँले गर्वका साथ भन्नुभयो।
त्यहाँबाट फर्किँदा मैले हेम सरलाई अरू पनि यस्ता घटना छन् भनेर सोधेँ। उहाँले हाँस्दै भन्नुभयो, 'यो अमरकल्याण मा.वि. पहिले स्वयम्भू सिद्ध प्रा.वि. थियो। मा.वि. भएपछि कल्याण रिमाल सरले आफ्नो नामको कल्याणसमेत जोडेर अमर कल्याण बनाउनुभएको रहेछ। कल्याण सरले जे गर्नुभयो ठीक गर्नुभयो। विद्यालयको नाम विशेष छ।'
इतिहास अलिखित पनि हुँदो रहेछ। यस पटकको कविता प्रतियोगितामा अमरकल्याण मा.वि.की छात्रा प्रश्ना कार्कीले प्रथम स्थान प्राप्त गरेकी थिइन्। उनीजस्तै प्रखर थिए अरू पनि।
निर्णायकलाई निकै कठिन परेको थियो कवितामा प्रथम, द्वितीय र तृतीय छुट्याउन। सकस परेको थियो तर जिम्मेवारीलाई निर्धक्कताका साथ प्रस्तुत गर्नु हाम्रो दायित्व थियो। त्यसै गर्यौं हामीले। समाज, संस्कृति, जीवन र अभावको यथार्थ, प्रकृति, बेरोजगार, सांस्कृतिक बाजागाजा समेत राम्ररी बुझेका माईजोगमाईका सारा विद्यालयका विद्यार्थीको चेतनालाई सलाम छ। उनीहरूलाई स्तरीय सिकाइ प्रदान गर्नुहुने अभिभावक र शिक्षकहरूलाई सलाम छ।
हामी मङ्गलबार बिहान थुम्केको काख नयाँबजारबाट बिदा भएर फिक्कलतिर झर्यौँ। ३१०० मिटरसम्मको उचाइमा पुगेर हामीले इलामको माईजोगमाईलाई हृदयबाट नियालिसकेका थियौँ। त्यही हृदयभरिको सप्रेम सम्झना र थुम्केको इन्द्रेणी सौन्दर्य बोकी बिदाइको भारी मनको कुम्लो लगाएर फिक्कल पुग्दा फिक्कल त झप्प तुवाँलोको खेती गरिरहेको रहेछ। काउन्टरमा ब्याग बिसाएर पुग्नु थियो कन्याम रानी मुस्कुराएको हेर्न।
एउटा जिप रिजर्भ गरेर तल कन्याम झरेपछि थाहा भयो, यी थुम्का र थुम्की त निकै रोमाञ्चक रहेछन्। घरि हुस्सुको धुवाँ ओढेर लुक्ने, घरि सूर्यको प्रकाशसँग मुस्कुराएर नाच्ने। कति हो नक्कल पनि! थुम्केरानीको यस्तै नक्कले दृश्यले मन मोहित भएको थियो। यता फिक्कल र कन्यामको पनि ताल उही रहेछ। यति सुन्दर प्रकृति अन्त कहाँ होला? यो मेरो देशको विचित्र कला आँखाअगाडि छमछम नाचिरहेछ अझ पनि।
तस्बिरमा दृश्यलाई कैद गर्दै हामी फर्किनु थियो फिक्कलको महालक्ष्मी बस काउन्टरमा। यस पटकको यात्रामा दुइटा कुराले दुःखी थिएँ म। मन असाध्यै गुनासो पोख्दै थियो, 'यहाँसम्म आएर पनि तेरी प्रिय साथी लता (लतु) लाई भेट्न पाइनस् भारू (गाउँघरमा बोलाइने मेरो विशेष नाम)।' मनलाई सम्झाउने कुनै शब्द थिएन मसँग।
त्यति मात्र हो र? एक वर्षअघिदेखि कन्याममा साथी वृष प्रधानज्यूको घरमा साङ्गीतिक कार्यक्रम गर्ने, गीत सुन्ने सुनाउने, कविता सुनाउने लगायत योजना थिए। सौभाग्यवश यसपालि त विशेष कार्यक्रमले इलाम पुर्यायो तर वृषजीसँग भेट भएन। मनले यता पनि गुनासो पोखिरह्यो।
लतालाई म्यासेज गरेँ— महालक्ष्मीको बस काउन्टरमा छु भनेर। व्यस्ततालाई एकातिर राखेर उहाँ दौडिँदै आइपुग्नुभयो। एकैछिनको मित्रमिलन पनि भव्य समारोहजस्तो लाग्यो। त्यतिमै इलाम, फिक्कल, कन्याम घुम्ने योजनालाई पोको पारेर कतै मनको कुनामा राख्दै हामी रमायौँ। अन्ततः क्षणभरकै लागि भए पनि लतासँग भेटेर वृषजीलाई नभेटी म फर्किएँ आफ्नै निवास ललितपुरको हात्तीवन। पुनः दोहोरियो एक रातको यात्रा, सहयात्री अनिता र सुभाष सरका साथ।
'भेटिनु छुटिनु त के हो र ?
संसारको रीत हो....।'
असाध्यै मिलनसार रेखा म्याम र बहिनी सवितासँग फिक्कलबाट छुटेपछि धेरै बेर उहाँहरूको साथको खाँचो मनले गरिरह्यो। सधैँभरि हामी सम्पर्कमा नै रहिरहने बाचासहित छुटिएका थियौँ।
पहिलो भेटमै प्रिय बन्नुभएकी प्रभा दिदीको बहिनीहरूप्रतिको स्नेह र सद्भावले मलाई अझै उतै खिचिरहेको छ। केशव दाजुको शालीनता अवर्णनीय रहेछ। हामी नजिककै नातेदार दाजुबहिनी रहेछौँ त्यही कुराले हामीलाई अझ नजिक बनाइरहेछ। म माईजोगमाई पाहुना भएर गएकी थिइनँ, म मेरो माइतीघर पुगेकी थिएँ। मीरा दिदीले गर्नुभएको आमाले गर्नेजस्तो अभिभावकत्वले उहाँप्रति सधैँ सम्मानमा शिर झुकिरहने छ।
हिमा दिदीको फरासिलो व्यवहार अनि केशर भिनाजुको सरलताले हामीलाई केही बेर मुग्ध पारिरह्यो। ढाका भिनाजु र नर्वदा दिदीको प्रेमिल व्यवहार हाम्रो हृदयमा हार्दिक प्रेम बनेर बसेको छ। मन्दाता दिदीको सप्रेम स्नेह अनुकरणीय छ।
बिर्सन नसकिने त्यो प्रिय जोडी चन्द्रमणि काफ्ले भाइ र बुहारी नानी हामी सबैका हृदयमा हुनुहुन्छ। विष्णुप्रसाद आचार्य भाइलाई देख्नेबित्तिकै मैले त सर भनेर सम्बोधन पनि गरिनँ। कति सजिलै चिनिँदो रहेछ नाता। मैले पहिलो कुराकानीमै भाइ सम्बोधन गरेर बनाएको प्रिय विष्णु भाइ।
हामीलाई हरेक कुरा सजिलो बनाइदिन लागि पर्नुभएका सक्रिय र विद्वत् व्यक्तित्व हाम्रो मन मस्तिष्कमा सधैँ रहिरहनुहुनेछ। नदी भाइ अर्थात् कवि नुरज भट्टराई जो नदीका नामले परिचित हुनुहुन्छ, हामीलाई यात्रामा साथ दिएर निकै निकटपनको महसुस गराउनुभयो।
प्रिय भाइ नुरज हजुरलाई कविताका साक्षी बनाएर सदैव हृदयदेखि सम्झने छु। नारायणप्रसाद चँदारा सरले हामीलाई पहिलो दिनदेखि नै सहयोग र साथ दिइरहनुभयो। विद्वान् अनि शालीन व्यक्तित्वका नमुना हुनुहुँदो रहेछ नारायण सर। गोकुल सञ्जेल दाइलाई उहाँका कविता र गीतले सम्झाइरहने छन्। ३३ वर्षअघि भद्रपुर क्याम्पस पढ्दाको स्मृतिलाई ताजा बनाइदिएर मलाई क्याम्पसको आँगन परिसरमा पुर्याइदिनुहुने गोकुल दाइलाई नमन छ। सम्झिरहने छु।
जीतबहादुर राई सर जसले हाम्रो यात्रामा अभिभावकको भूमिका निर्वाह गर्नुभयो, उहाँप्रति आभारी छु। सीताराम भिनाजु हजुरलाई संगीतमा सुनेपछि महसुस भयो जीवन त एउटा संगीतको धुन रहेछ। कहिले हार्मोनियमको तालझैँ सुरिलो बन्दो रहेछ जीवन कहिलेकाहीँ सुर नमिलेको बेताल, बेसुर र बेढंगको आवाज बन्दो रहेछ जीवन। संगीतका हरेक सुरमा हजुरलाई सम्झने छु।
विद्यालय परिवार, स-साना भाइबहिनी, नयाँबजार बाटोभरि भेटेर मुसुक्क हाँस्दै आत्मीयताको परिचय दिने नेपाली समाजले मेरो बाल्यकाललाई पुस्तकको पाना बनाएर पल्टाइदियो। उही पृष्ठ जहाँ मैले पच्चिस वर्ष कोरेकी थिएँ। गुम्बाको शान्त र ऊर्जावान् वातावरणले मलाई अझै तानिरहेको छ। महिनौं ध्यानस्थ भएर बस्न मन छ अझै। म जहाँ पुग्छु खुसी उतै दौडिएर आउँछ। सायद म खुसी चाहन्छु। थुम्केको रिसोर्टमा पुग्दा मामाघर पुगेको आभास दिलाउने शिरोज नेपाल मामा र सि.एम. भट्टराई मामा सदैव सम्मानित मावलको नाताभित्र बाँचिरहनुहुनेछ। मलाई साँच्चै गुरू-आशीर्वादले साथ दिएको छ। मेरा गुरू नारायण पौडेल सरलाई सदैव सम्मान गर्दै नमन गरिरहने छु।
मलाई थुम्केले के दिएन र सबथोक पाएँ मैले। मलाई एउटा अतिथि कविका रूपमा योग्य ठानेर थुम्केसम्म पुर्याउनुहुने मेरो माइतीराजा हेम भण्डारी सर साथै आत्मीय अनिता बहिनी र सुभाष सरको साथ पाएँ— सबैभन्दा ठूलो प्राप्ति र साथ जुन साथले आज थुम्केलाई स्पर्श गर्ने अवसर प्राप्त भयो। आभारी छु थुम्केप्रति तथा थुम्के साहित्यिक समूहप्रति।
मेरो पाइलाले इलामको भूगोलको बाहिरी क्षेत्रफल जति नापे पनि मनले इलामको हृदयलाई छोएको छ। मेरो भावना इलामेलीको मनको गहिराइमा पुगेको छ।
प्राकृतिक सौन्दर्यको अन्तर्हृदयलाई यी आँखाले छुने कोसिस गरेको छ। साहित्यिक कार्यक्रमको अतिथि कवि भएर त्यहाँ पुग्नु त एउटा माध्यम मात्र थियो, त्यहाँको भूगोल, संस्कृति, प्रकृति र समाजलाई गहिराइबाट बुझ्न सक्नु सबैभन्दा ठुलो उपलब्धि हो। वास्तवमा यात्रा जीवनको पुस्तक रहेछ। जति हिँड्दै गयो, उति पाना पल्टिँदै जाने रहेछ। काठमाडौँदेखि माईजोगमाई गाउँपालिकाको थुम्केरानीसम्मको यात्राले मलाई यात्री मात्र बनाएन, एउटा जिम्मेवार नागरिक बन्न सिकायो। प्रकृतिको सौन्दर्य, माटोको सुगन्ध, संस्कृतिको महत्त्व, सामाजिक अपनत्व, सम्बन्धको आत्मीयतालाई एकैसाथ स्पर्श गर्ने अवसर प्रदान गर्यो। जीवनरूपी पुस्तकलाई अध्ययन गर्ने अवसर प्राप्त भयो।
इलाम मेरा लागि नेपालको नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन, मेरो जन्मथलो पूर्वी नेपालको अत्यन्त रमणीय पर्यटकीय स्थल हो। यात्राबाट फर्किँदा मैले त्यहाँका तस्बिर मात्र होइन मनभरि इलामेलीको आत्मीयता, ती थुम्का थुम्कीमा हुस्सु र कुहिरोले खेलेका रमणीय खेलका अवर्णनीय दृश्य, जीवनलाई बुझ्ने नवीन दृष्टिकोण साथै मनभरि प्रकृतिले लेखेका सुन्दर कविता बोकेर फर्किएकी छु।
फेरि फर्किने रहरसहित आँखामा थुम्केरानी, हृदयमा इलाम राखेर भन्दैछु, 'संसारले चिन्न सकोस् मेरो इलामको सौन्दर्यलाई।'
यी पनि:
आँखामा थुम्केरानी, हृदयमा इलाम
थुम्केरानी फुल्छन् जहाँ प्रकृति, कविता र सम्बन्ध
थुम्केको काख, माइतीको आँगन