डा. अम्बरीष झा हाल अमेरिकाको प्रोभिडेन्स सहरमा बस्छन्। प्रोभिडेन्स अमेरिकाको रोड आइल्यान्ड राज्यको राजधानी सहर हो। शिक्षा र स्वास्थ्य क्षेत्रका लागि यो सहर परिचित छ।
पेसाले अम्बरीष फिजिसियन साइन्टिस्ट हुन्।
फिजिसियन साइन्टिस्ट भनेको बिरामीको उपचार गर्नुका साथै रोग, औषधि र स्वास्थ्य सम्बन्धी विषयमा अनुसन्धान गर्ने चिकित्सक हो।
'म अमेरिकामा विशेषगरी बिरामी उपचारसँगै स्वास्थ्य तथा औषधि सम्बन्धी अनुसन्धानमा पनि सक्रिय छु,' अम्बरीषले आफ्नो कामबारे भने।
रोड आइल्यान्ड हस्पिटलमा कार्यरत उनी ब्राउन विश्वविद्यालय अन्तर्गतको सेन्टर फर इन्टरनेसनल हेल्थ रिसर्चमा अनुसन्धान कार्यमा पनि संलग्न छन्।
अम्बरीषका अनुसार रोड आइल्यान्ड स्वतन्त्र अस्पताल हो, तर यसको ब्राउन विश्वविद्यालयसँग शैक्षिक र अनुसन्धान सहकार्य छ। यो ब्राउन विश्वविद्यालयको मेडिकल स्कुलसँग आबद्ध शिक्षण अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ।
उनी अस्पतालका असिस्टेन्ट प्रोफेसर पनि हुन्। अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचार गर्नु, मेडिकल विद्यार्थी र रेसिडेन्ट चिकित्सकहरूलाई प्रशिक्षण दिनु तथा अनुसन्धान कार्यमा संलग्न हुनु उनको मुख्य जिम्मेवारी हो।
'म अहिले महिनामा सात दिन बिरामी जाँच गर्छु, बाँकी समय प्रशिक्षण र अनुसन्धानमा बिताउँछु,' अम्बरीषले भने।
उनी विशेषगरी मलेरिया विरूद्धको नयाँ औषधि विकास सम्बन्धी अनुसन्धानमा संलग्न छन्। उक्त परियोजनालाई अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थ (एनआइएच) ले सहयोग गरेको अम्बरीषले जानकारी दिए।
उनले यो अस्पतालमा काम गरेको ६ वर्ष भयो। त्यसअघि उनी सेन्टर फर इन्टरनेसनल हेल्थ रिसर्च ल्याबमा मात्रै आबद्ध थिए।
अम्बरीषको पुर्ख्यौली घर सिराहा हो।
बुबा सरकारी सेवामा भएकाले बाल्यकालमा विभिन्न जिल्लामा बस्ने र पढ्ने अवसर पाए। सरूवाका कारण उनले विद्यालय जीवनमा धेरै विद्यालय परिवर्तन गर्नुपर्यो। एसएलसीपछि उनी काठमाडौं आए र चिकित्सक बन्ने लक्ष्यसहित मेडिकल शिक्षामा प्रवेश गरे।
उनले धुलिखेल अस्पताल अन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसबाट एमबिबिएस सकेका हुन्।
एमबिबिएसपछि उनले काठमाडौंका केही अस्पतालमा पार्ट–टाइम काम गर्दै अमेरिकाको युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जाम (युएसएमएलई) परीक्षाको तयारी गरे।
'पार्ट–टाइम कामले लाइसेन्सिङको तयारी गर्न खर्च पुग्थ्यो,' उनले भने।
युएसएमएलई अमेरिकामा डाक्टरका रूपमा काम गर्न वा रेसिडेन्सी (विशेषज्ञता तालिम) गर्न विदेशी डाक्टरले दिनुपर्ने परीक्षा प्रणाली हो।
युएसएमएलईका प्रारम्भिक परीक्षा चरणहरू आफ्नै देशबाट दिन मिल्छ। त्यसपछि अमेरिका गएर क्लिनिकल तालिम, रेसिडेन्सी वा थप परीक्षा/प्रक्रिया पूरा गरिन्छ।
अम्बरीष अमेरिकामा डाक्टर बन्ने उद्देश्यले सन् २०१५ मा अमेरिका गए।
'लाइसेन्सिङ परीक्षाका दुई चरण यहीँ पूरा गरेँ। बाँकी अमेरिका गएर सकेँ,' उनले सुनाए।
उनले अमेरिका गएपछि सुरूआती चरणमा सेन्टर फर इन्टरनेसनल हेल्थ रिसर्चमा भोलेन्टियरका रूपमा अनुसन्धानमा काम गरे। केही महिनापछि उनलाई अनुसन्धान क्षेत्रमा जागिरको प्रस्ताव आयो। उनले बेसिक साइन्स रिसर्च अन्तर्गत प्रयोगशालामा विभिन्न प्राविधिक तथा अनुसन्धान सम्बन्धी काम गरे।
अम्बरीषले सन् २०१५ देखि २०१७ सम्म पूर्णकालीन रूपमा अनुसन्धानमा काम गरे। त्यसपछि तीन वर्ष इन्टरनल मेडिसिन रेसिडेन्सी प्रशिक्षणको तालिम लिए। तालिम पूरा गरे गरेपछि उनी अस्पतालमा जागिरे भएका हुन्।
'अस्पतालमा १२ घन्टासम्मको ड्युटी हुन्छ। अनुसन्धान र प्रशिक्षणका कारण कहिलेकाहीँ काम निकै व्यस्त भइन्छ,' उनले भने।
उनकी श्रीमती पनि चिकित्सा क्षेत्रमै छिन्। कामको समय मिलाएर आलोपालो घरको जिम्मेवारी सम्हाल्छन्।
उनीहरूका तीन वर्षका छोरा छन्।
'सोमबारदेखि शुक्रबारसम्म डे–केयरमा राखेका छौं। बाँकी दिनमा ड्युटी मिलाएर छोराको हेरचाह गर्छौं,' उनले भने।
उनले हालसम्म अन्तर्राष्ट्रिय सम्मेलनमा चार वटा पोस्टर प्रस्तुति गरेका छन्। त्यस्तै, केही अनुसन्धानमा सह–लेखकका रूपमा पनि संलग्न छन्। दुइटा अनुसन्धानात्मक लेख प्रकाशनको तयारीमा रहेको अम्बरीषले बताए।
आगामी दिनमा मलेरिया औषधि विकास सम्बन्धी अनुसन्धान परियोजनालाई अघि बढाउने उनको योजना छ। हाल तीनवर्षे उक्त परियोजनालाई सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएको छ।
साथै, थप अनुसन्धान अनुदान (ग्रान्ट) का लागि पनि आवेदन दिने तयारी रहेको उनले बताएका छन्।
'अहिले एक वर्ष भयो। अझै दुई वर्ष बाँकी छ,' उनले भने, 'त्यसपछि पनि अनुसन्धानका लागि आवेदन दिन्छौं।'
अनुसन्धान, शिक्षण र स्वास्थ्य सेवामार्फत नेपालका युवा चिकित्सकहरूलाई सहयोग गर्ने, अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने र स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान दिने उनको चाहना छ।