नयाँ स्टक एक्सचेन्ज ल्याउन धितोपत्र बोर्डले प्रक्रिया नै सुरू गरिसकेको भएपनि यो प्रक्रिया गलत भएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ।
शिखर विजनेश म्यानेजमेन्ट कम्पनी प्रालिले दायर गरेको मुद्दाको सुनवाई गर्दै न्यायाधीश जगदिश घिमिरेले वैशाख २७ गते दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएका छन्।
शिखर विजनेशले प्रधानमन्त्रीको कार्यालय सहित ६ निकायलाई विपक्षी बनाएको छ।
निवेदकको तर्फबाट अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दीपक राज जोशी र अमृत खरेलले बहस गरेका छन्।
धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।
बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो। यसरी आवेदन दिन मागिएको अवधि नियम विपरीत भएको समेत निवेदकले रिटमा उल्लेख गरेका छन्।
पाँच महिनाअघि पनि स्टक एक्सचेन्जको लागि गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले स्टक एक्सचेन्ज खोल्ने बाटो खुला गरिदिएसँगै प्रक्रिया अगाडि बढेको थियो।