बैंकहरूले अब मासिक रुपमा कर्जाको ब्याजदर तय गर्ने भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको छ। राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै पुराना ऋणीलाई समेत मासिक आधारदरबाट कर्जाको ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ।
बैंकहरूले पछिल्लो समय निक्षेपको ब्याजदर घटाइरहेकाले पहिलेभन्दा कम ब्याजदरमा अहिले कर्जा पाइने भएपछि यसको सकारात्मक प्रभाव नेप्सेमा परेको हो। यसअघि बैंकहरूले पुराना ऋणीको ब्याजदर तोक्दा तीन महिनाको औषत आधारदर लिनुपर्थ्यो।
मंगलबार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ बिन्दुमा पुगेको छ।
प्राविधिक विश्लेषणको आधारमा समेत नेप्सेले सोमबार १८३३ मा टेवा पाएको देखिन्छ। यसअघि पनि नेप्सेले यो बिन्दुमा टेवा पाएर १९ सयको तहसम्म छोएको थियो।
मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६९ वटा धितोपत्रको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार पिपल्स पावरको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य २६९.८० रुपैयाँ पुगेको छ।
यस्तै, कालिन्चोक दर्शनको सेयरमूल्य ४.६५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२० रुपैयाँ पुगेको छ।
यसैगरी, युनिक नेपाल लघुवित्तको सेयरमूल्य ८.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५११ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, सिटीजन्स म्युचुअल फण्ड–२ को इकाई मूल्य ४.३२ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ५३ पैसा पुगेको छ।
मंगलबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १८९ रुपैयाँ ५० पैसामा ६ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४०० रुपैयाँमा ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ।