साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ८ महिना यताकै न्यून बिन्दुमा झरेको छ।
यसअघि २०७९ साल असोज ९ गते नेप्से १८१५ बिन्दुसम्म पुगेर फर्किएको थियो।
आइतबार नेप्से त्यसयताकै न्यून बिन्दुमा पुगेको हो।
यस दिन नेप्से १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँ पुगेको छ।
यस दिन २६३ वटा धितोपत्रको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ७२७ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, नागरिक लगानी कोषको सेयरमूल्य ३.९३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २ हजार रुपैयाँ ९० पैसा पुगेको छ।
यसैगरी, राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ६.३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६०३ रुपैयाँ पुगेको छ।
यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ५.९२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २५१ रुपैयाँ १० पैसा पुगेको छ।
आइतबार नागरिक लगानी काषको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २ हजार ९० रुपैयाँमा ५ करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो।
कम्पनीले आइतबार २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको सर्वाधिक कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको एक हजार ८३७ रुपैयाँमा ४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ।