माई खोला हाइड्रोपावरको सेयर कारोबार आज (मंगलबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार खुला भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। ‘एमकेएचएल’ संकेतमा कम्पनीको कारोबार खुला भएको छ।
सोमबार कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरूलाई सहित) १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २० लाख कित्ता सहित उक्त सेयर नेप्सेमा सूचीकृत गरेको हो।
कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम १११ रुपैयाँ ६७ पैसादेखि ३३५ रुपैयाँ १ पैसासम्मको मूल्य रेन्ज पाएको थियो। सोही रेन्जभित्र रहेर पहिलो कारोबार खुला भएको हो।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
यस अवधिसम्म कम्पनीको सेयर १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३०१ रुपैयाँ ५० पैसामा झरेको छ।