आर्थिक वर्ष २०८३/०८४ का लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रतर्फ साढे ५ अर्ब बढी बजेट विनियोजन गरेको छ।
स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, विशेषज्ञ सेवा पहुँच तथा उपचार सहुलियतलाई प्राथमिकतामा राख्दै सरकारले स्वास्थ्यतर्फ ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले दुर्गम क्षेत्रमा मोबाइल मेडिकल भ्यानमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए।
त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालसहित प्रदेशका महत्त्वपूर्ण स्वास्थ्य संस्थाको भवन निर्माण तथा स्तरोन्नति गर्न २ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालबाट टेलिमेडिसिन सेवा सञ्चालन, मातृ मृत्युदर बढी भएका स्थानीय तहका गर्भवती महिलाका लागि निःशुल्क प्रयोगशाला परीक्षण, मुटुको भल्भ प्रत्यारोपण, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरका बिरामीका लागि उपचारमा आर्थिक सहयोग, निःशुल्क रक्तसञ्चार सेवा लगायतमा बजेट बिनियोजन गरिएको मन्त्री कार्कीले बताए।