नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब रूपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ पुगेको छ।
गत असार मसान्तको तुलनामा यो ६.८ प्रतिशतले बढी हो।
गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रूपैयाँ थियो।
अमेरिकी डलरमा पनि सञ्चिति बढेको छ।
असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रूपैयाँ रहेको छ।
असार मसान्तमा यस्तो सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड रूपैयाँ थियो।
राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि बढेको छ।
असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा ४ खर्ब ६५ अर्ब ९० करोड रूपैयाँ पुगेको छ।
असोज मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति बढेसँगै यसले धान्न सक्ने आयातको अवधि पनि पर्याप्त देखिएको छ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तमा कायम सञ्चितिले १९.९ महिनाको वस्तु आयात धान्न पुग्छ।
वस्तु र सेवा दुवैको आयातलाई आधार मान्दा १७.२ महिनाको आयात धान्न पर्याप्त हुन्छ।
यसको अर्थ नेपालले अहिलेको विदेशी मुद्रा सञ्चिति प्रयोग गरेर आगामी करिब २० महिनासम्म वस्तु आयातको भुक्तानी गर्न सक्ने अवस्था छ।
वस्तु तथा सेवाको आयातसमेत जोड्दा भने यो अवधि करिब १७ महिना हुन्छ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तको विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत बराबर छ।
त्यस्तै, कुल आयातको तुलनामा १४३.७ प्रतिशत र विस्तृत मुद्रा प्रदायको तुलनामा ४४.८ प्रतिशत रहेको छ।