चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब १४ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रूपैयाँ मात्रै थियो।
यस वर्षको तीन महिनामा वैदेशिक लगानी २ अर्ब ४० करोड रूपैयाँले बढेको छ।
अघिल्लो वर्षको तुलनामा यो १३७.९ प्रतिशतको वृद्धि हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा सेयर पुँजी (इक्विटी) का रूपमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी मात्रै समावेश गरिएको हो।
प्रत्यक्ष वैदेशिक लगानी भन्नाले विदेशी व्यक्ति वा कम्पनीले नेपालमा उद्योग, व्यवसाय वा अन्य परियोजनामा स्वामित्व तथा लगानीको हिस्सेदारी लिने गरी ल्याएको पुँजी हो।
यस्तो लगानीले नयाँ उद्योग स्थापना, व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सहयोग पुर्याउॅंछ।
तर, लगानीको रकम बढ्दैमा नयाँ उद्योग वा परियोजनामा त्यही अनुपातमा लगानी नभएको पनि हुनसक्छ।
विदेशी लगानीको वास्तविक प्रभाव त्यसले उत्पादन, रोजगारी र व्यवसाय विस्तारमा पुर्याएको योगदानबाट देखिन्छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर भने घटेको छ।
पहिलो तीन महिनामा यस्तो रकम २ अर्ब ३१ करोड रूपैयाँ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५५ करोड रूपैयाँ थियो।
ऋण वा वस्तु तथा सेवाको सामान्य कारोबारभन्दा फरक प्रकृतिमा प्राप्त हुने पुँजीगत सहायता तथा अनुदानजस्ता रकम पुँजीगत ट्रान्सफर हो।