दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत स्थलगत तथ्यांक संकलनको काम सकिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले असार ७ गतेसम्म देशभरका १३ लाख ५१ हजार १६७ प्रतिष्ठानको विवरण संकलन गरेको जानकारी दिएको हो।
कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार अनलाइन प्रणाली 'इसेन्सस' मार्फत ८ हजार ३८८ प्रतिष्ठानले टोकन प्राप्त गरेका थिए।
तीमध्ये ६ हजार ६७० प्रतिष्ठानले पूर्ण विवरणसहित फारम भरेका छन्।
पूर्ण विवरण भर्न बाँकी रहेका, आंशिक विवरण मात्र उपलब्ध गराएका, गणनामा छुटेका वा आफू छुटेको जानकारी गराएका प्रतिष्ठानलाई सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमार्फत सहभागी हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
जिल्ला आर्थिक गणना कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
कार्यालयका अनुसार अधिकांश प्रतिष्ठानको विवरण कागजी प्रश्नावलीमार्फत संकलन गरिएको हो।
देशभर १३ लाख ४४ हजार ६६१ प्रतिष्ठानले कागजी प्रश्नावली भरेका छन्।
यसअघिको पहिलो आर्थिक गणना २०७५ मा ९ लाख १७ हजार ४७० प्रतिष्ठानबाट कागजी प्रश्नावली संकलन गरिएको थियो।
त्यतिबेला 'इसेन्सस' मार्फत ५ हजार ८८६ प्रश्नावली भरिएका थिए। दुवै माध्यमबाट गरी कुल ९ लाख २३ हजार ३५६ प्रतिष्ठानको विवरण संकलन भएको थियो।
यस आधारमा दोस्रो आर्थिक गणनामा समेटिएका प्रतिष्ठानको संख्या पहिलो गणनाको तुलनामा करिब ४ लाख २८ हजारले बढी देखिएको छ।
यसले पछिल्ला वर्षहरूमा व्यवसाय तथा आर्थिक गतिविधिको दायरा विस्तार भएको संकेत गर्ने कार्यालयको अपेक्षा छ।
दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत कार्य वैशाख २ गतेदेखि देशभर एकैसाथ सुरू गरिएको थियो।
गणनाका लागि ३ हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक, जिल्ला तहमा ५०४ व्यवस्थापन समूह तथा केन्द्रमा ५३ सदस्यीय कोर समूह परिचालन गरिएको थियो।