अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार्न, कर चुहावट रोक्न र चालु आर्थिक वर्षको लक्ष्य मिसनका रूपमा पूरा गर्न राजस्व प्रशासनलाई निर्देशन दिएका छन्।
उनले तीन महिनाभित्र १४ प्रमुख भन्सार कार्यालयमा सवारी साधन स्क्यानर जडान गर्न पनि निर्देशन दिएका छन्।
अर्थमन्त्री सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा भन्सार र आन्तरिक राजस्व प्रशासनका अधिकारीले त्यसअनुसार केन्द्रित भएर काम गर्नुपर्ने बताए।
उनले राजस्व संकलनको लक्ष्यलाई मिसनका रूपमा अघि बढाउन आग्रह गर्दै करदातामाथि अनावश्यक दबाब नभई कर तिर्ने वातावरण बनाउनुपर्ने बताए।
'नेपालमा राजस्व संकलनको लय बिग्रिएको छ, चुहावटको गुनासो पनि धेरै छ। अब यो स्वीकार्य हुँदैन,' उनले भने, 'करदातालाई तर्साएर होइन, प्रोत्साहित गरेर करको दायरामा ल्याउनुपर्छ।'
उनले कर संकलनको लक्ष्य वैज्ञानिक बनाउन र कर प्रशासनलाई यथार्थमा आधारित बनाउन पनि निर्देशन दिए।
कर प्रशासकलाई अनुकूल कार्यशैलीबाट बाहिर निस्केर नतिजामुखी रूपमा काम गर्न उनले आग्रह गरे।
अर्थमन्त्री वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागलाई प्रविधिको प्रयोग बढाएर चुहावट नियन्त्रण गर्न निर्देशन दिए।
उनले तीन महिनाभित्र देशका १४ प्रमुख भन्सार कार्यालयमा सवारी साधन स्क्यानर जडानको काम अघि बढाउन र यसअघि जडान भएर सञ्चालनमा नरहेका स्क्यानर मर्मत गरी प्रयोगमा ल्याउन पनि निर्देशन दिए।
उनले राजस्व लक्ष्य पूरा गर्न आवश्यक स्रोत र साधन उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै कर सचेतना, सरकारले घोषणा गरेको कर छुट योजना र करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए।
बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्व संकलनबीच देखिएको अन्तरको कारण पहिचान गरी सुधार गर्न मातहतका निकायलाई निर्देशन दिए।
राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले राजस्व संकलनको अवस्था र चालु आर्थिक वर्षको लक्ष्यबारे प्रस्तुतीकरण दिएका थिए।
भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भन्सार राजस्वको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले कर छुट योजना र करदाता प्रोत्साहन कार्यक्रम कार्यान्वयनबारे जानकारी दिएका थिए।