चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल भित्रिने विदेशी मुद्रा बाहिरिनेभन्दा ३ खर्ब ३ अर्ब ७९ करोड रूपैयाँ बढी भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्मको अवधिमा देशको आम्दानी र खर्चको समग्र हिसाबमा यति रकम बचत भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ६४ अर्ब ३ करोड रूपैयाँ थियो।
देशमा रेमिटेन्स, पर्यटनलगायतका स्रोतबाट भित्रिने विदेशी मुद्रा बढ्दा यस्तो बचत भएको हो।
आयात, सेवा तथा अन्य भुक्तानीका लागि बाहिरिने रकमभन्दा देशमा भित्रिने रकम बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
यस अवधिमा देशको चालु खाता पनि २ खर्ब ७९ अर्ब ११ करोड रूपैयाँ बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रूपैयाँ थियो।
चालु खाताले वस्तु तथा सेवाको कारोबार, रेमिटेन्स र अन्य आम्दानी तथा भुक्तानीको हिसाब देखाउँछ।
अमेरिकी डलरमा हेर्दा पनि चालु खाता बचत बढेको छ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा १ अर्ब ६९ करोड डलर बचत रहेकोमा यस वर्ष १ अर्ब ८२ करोड डलर पुगेको छ।
यसैबीच, प्रत्यक्ष वैदेशिक लगानी बढेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब १४ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रूपैयाँ थियो।
यो तथ्यांकमा सेयर पुँजीका रूपमा आएको वैदेशिक लगानी मात्रै समावेश छ।
तर, खुद पुँजीगत ट्रान्सफर भने घटेको छ।
समीक्षा अवधिमा यस्तो रकम २ अर्ब ३१ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५५ करोड रूपैयाँ थियो।
अमेरिकी डलरमा गणना गर्दा देशको समग्र बचत पनि बढेको छ।
अघिल्लो वर्षको पहिलो तीन महिनामा १ अर्ब ८८ करोड डलर बचत रहेकोमा यस वर्ष १ अर्ब ९८ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।