‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि मंगलबार भएको दफावार छलफलमा सञ्चालक समितिको संरचनाका विषयमा सहमति जुटेको छ।
विधेयकको दफा १० मा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताए। जसअनुसार बैंकमा दुई जना डेपुटी गभर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने सञ्चालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ।
सञ्चालक समितिमा रहने तीन जना स्वतन्त्र सञ्चालकहरूमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ।
मंगलबारको बैठकले सञ्चालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ यी प्रावधानहरूमा सहमति कायम गरेको हो। –न्युज एजेन्सी नेपाल