सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको हो।
अमेरिकाको मिजोरी विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरेर आएपछि उनी लगानी बोर्डमा आबद्ध भएकी थिइन्। बोर्डमा लगभग सुरूआत कालदेखि प्रोजेक्ट फाइनान्सिङको जिम्मेवारी सम्हालेकी यांकीले करिब ६ वर्ष त्यहाँ काम गरिन्।
त्यसपछि उनी सार्वजनिक नीतिमा स्नातकोत्तर गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालय गइन्।
अक्सफोर्डमा पढेपछि उनी राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा आबद्ध भइन्। उनले युएनडिपीको वरिष्ठ सल्लाहकारका रूपमा फिजी, कम्बोडिया लगायत मुलुकमा काम गरेकी छन्।
ओलाङचुङगोला पुर्ख्यौली घर भएकी यांकीले अध्ययन र कामको सिलसिलामा लामो समय अमेरिकामा बिताएकी थिइन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। ती तीन जनामध्येबाट मन्त्रिपरिषदले यांकीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सिफारिस समितिले यांकी उक्याबसहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको हो।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए।
सिफारिस समितिले लगानी बोर्डको सिइओ नियुक्तिका लागि जेठ २९ गते आवेदन मागेको थियो। त्यसपछि आवेदन दिने म्याद असार १८ गतेसम्म थपिएको थियो। आवेदन दिएका आठ जनामध्ये छोटो सूचीमा परेकाहरूको साउन ७ र ८ गते प्रस्तुति र अन्तर्वार्ता लिइएको थियो।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्षको हुन्छ।
कानुन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत बोर्डको सदस्य–सचिव पनि हुने व्यवस्था छ।
यसअघि बोर्डको सिइओका रूपमा राधेश पन्त, महाप्रसाद अधिकारी, सुशील भट्ट र सुशील ज्ञवालीले जिम्मेवारी पाएका थिए।