भदौ १० गते भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढी र असोज ८ देखि १२ गतेसम्मको झरीले विभिन्न ठाउँमा आएको बाढी पहिरोको प्रभाव अहिले दसैंको बजारमा देखिएको छ।
उपभोक्ताहरूले बजार मूल्य अत्यधिक महँगो भएको गुनासो गरेका छन्। व्यापारीहरूले सामान नै पाउन नसकेको बताएका छन्।
दसैं–तिहार अघिको करिब एक महिना बजारमा सबैभन्दा बढी खरिदबिक्री हुने समय हो।
यही समयमा व्यापारीले चाडपर्वलाई लक्ष्य गरेर लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, सजावटका सामग्रीलगायतको ठूलो परिमाणमा सामान ल्याउने गर्छन्।
यसपालि भने माग बढ्ने समयमा नै चीनबाट आउने सामानको आपूर्तिमा समस्या भएको छ।
दसैंअघि बजारमा सामानको माग सामान्य समयभन्दा बढ्ने भएकाले आपूर्ति अवरुद्ध हुँदा अभाव र मूल्य बढ्ने जोखिम झन् बढी हुन्छ।
चीनसँग जोडिएका तातोपानी, रसुवागढी–केरुङ र कोराला तीनवटै स्थलमार्गबाट व्यापार प्रभावित भएको छ।
यी नाकाबाट खासगरी दसैं–तिहारका लागि ल्याइने लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, घर सजावटका सामग्री, झिलिमिली बत्ती, मूर्ति तथा विभिन्न व्यापारिक वस्तु आउँछन्।
सयौँ कन्टेनर विभिन्न स्थानमा रोकिएका छन्।
तर, अहिले बजारमा देखिएको सबै मूल्य वृद्धि चीनसँगको नाका अवरोधकै कारण भने नभएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ।
पृथ्वी राजमार्गमा केही समय भएको अवरोध तथा अन्य कारण देखाएर पनि व्यवसायीले सामानको मूल्य बढाइरहेको उनको दाबी छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाका अनुसार चीनबाट आउने लत्ताकपडा, इलेक्ट्रोनिक्स, गाडी र फोनजस्ता वस्तुमा केही मूल्य वृद्धि हुनु स्वाभाविक हुन सक्छ।
तर, खाद्यान्नमा भने बाढीपहिरो र सडक अवरोधलाई मात्र कारण देखाएर मूल्य बढाउनु उचित होइन।
'चीनबाट आउने लत्ताकपडा, इलेक्ट्रोनिक्स, गाडी र फोनमा केही बढ्नु स्वाभाविक मानिएला,' तिमिल्सिनाले भने, 'तर, माछा, मासु, तरकारी, फलफूल, दाल र चामलमा बाढीलाई मात्र कारण देखाएर मूल्य बढाउनु अस्वाभाविक हो।'
त्यसो भए अहिले दसैंको बजारमा खास प्रभाव कस्तो देखिएको छ त?
हिमालय सिमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीका अनुसार यसपालि बजारमा मूल्य वृद्धिभन्दा पनि सामानको चरम अभाव हुने जोखिम बढी छ। दसैं–तिहार लक्षित लत्ताकपडा, जुत्ता–चप्पल, झिलीमिली बत्ती, मूर्ति, घर सजावटका सामग्री र इलेक्ट्रोनिक्स सामान डेढ महिनादेखि बाटोमै रोकिएका छन्।
'दशैंमा नयाँ लुगा फेर्ने न्यून आय भएका परिवारलाई सामानको अभावले सबैभन्दा बढी असर गर्छ,' कार्कीले भने, 'काठमाडौंमा सामान आइपुगे पनि मेचीदेखि महाकालीसम्म पुर्याउन समय अभाव हुन्छ।'
उनका अनुसार तातोपानीतर्फ नेपालबाट सडक खुलिसकेको अवस्था छ।
त्यसैले सरकारले चिनियाँ पक्षसँग विशेष कूटनीतिक पहल गरे केही सामान ल्याउन सकिने बताए।
'तातोपानीतर्फको बाटो क्लियर भइसकेको छ। सरकारले चिनियाँ पक्षसँग विशेष पहल गरे नाका छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ,' कार्कीले भने, 'भारी र ठूलो परिमाणका सामान हवाई मार्गबाट ल्याउन सम्भव छैन।'
चेम्बर अफ कमर्सको उद्योग वाणिज्य समितिका सभापति भीम पौडेलका अनुसार चीनबाट सामान आउने तीनवटै स्थलमार्ग प्रभावित हुँदा बजारमा प्रत्यक्ष असर परेको छ। इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ता–चप्पल, मेसिनरी, हार्डवेयर, स्वास्थ्य तथा सर्जिकल सामग्रीमा समस्या देखिएको छ।
स्वदेशी गार्मेन्ट, जुत्ता र फर्निचर उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत असर परेको छ।
'तातोपानीमा सामान एक–डेढ महिना रोकिएपछि केरुङतर्फ रिरुट गर्दा पनि थप खर्च बढ्यो,' पौडेलले भने, 'प्रति कन्टेनर १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म अतिरिक्त खर्च थपिएको छ।'
भोटेकोशीको समस्या आएपछि कोरालातर्फ सामान मोड्दा खर्च झन् बढेको उनले बताए।
सामान्य अवस्थामा करिब १ लाख रूपैयाँ लाग्ने ढुवानी भाडा अहिले ५ देखि ६ लाख रूपैयाँसम्म पुगेको पौडेलको भनाइ छ।
'सामानको अभावका कारण बजारमा मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको अनुमान छ,' पौडेलले भने, 'इलेक्ट्रोनिक्सदेखि कपडा, जुत्ता र उद्योगका कच्चा पदार्थसम्म यसको असर परेको छ।'
हिमालय सिमापार व्यापार संघका अध्यक्ष कार्कीका अनुसार सामान्य अवस्थामा एउटा कन्टेनरको ढुवानी खर्च १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म पर्ने गरेको थियो।
अहिले कोराला हुँदै सामान ल्याउँदा त्यही खर्च ५ लाख रूपैयाँसम्म पुगेको छ। सामान्य अवस्थामा वस्तुको कुल लागतमा ढुवानीको हिस्सा ५ देखि ७ प्रतिशत हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशतसम्म पुगेको उनले बताए।
खाद्यान्नमा भने अवस्था फरक रहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन्।
उनका अनुसार काठमाडौं उपत्यकामा सामान्यतः दुई–तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहने गर्छ।
त्यसैले केही दिनको सडक अवरोधलाई आधार बनाएर खाद्यान्नको मूल्य अत्यधिक बढाउनु उचित नभएको उनको भनाइ छ।
'हप्तादिन बाटो अवरुद्ध हुँदैमा खाद्यान्नको मूल्य यति धेरै बढ्नुपर्ने अवस्था होइन,' बज्राचार्यले भने, 'अहिले खुद्रा व्यापारीको दबाबपछि चामल, तेल र चिनीको मूल्य केही घट्न थालेको छ।'
उनका अनुसार चामलको मूल्य प्रतिबोरा ४ सय रूपैयाँसम्म बढेको थियो। अहिले मिलवालाहरूले ५० देखि १ सय रूपैयाँसम्म घटाउन थालेका छन्।
तेलको मूल्य पनि ३३० रूपैयाँसम्म पुगेपछि अहिले घट्ने क्रममा छ। चिनीको मूल्य १७० रूपैयाँसम्म पुगेकोमा सहुलियत बिक्रीपछि घटेको उनले बताए।
यसले दसैंको बजारमा अहिले दुईखाले प्रभाव देखिएको छ।
चीनबाट आउने वस्तुमा वास्तविक आपूर्ति समस्या देखिएको छ। खाद्यान्नमा भने सडक अवरोध र ढुवानी खर्चलाई आधार बनाएर मूल्य बढाइएको गुनासो छ।