जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याएको भन्दै भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ।
कर दिवसका अवसरमा सरकारले प्रतिकूल परिस्थितिमा पनि उत्कृष्ट व्यवसाय गरेको भन्दै भाटभटेनीलाई छुट्टै सम्मान प्रदान गरेको हो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनीका अधिकांश स्टोरमा आगजनी तथा तोडफोड भएको थियो। त्यसपछि कम्पनीले तीव्र गतिमा पुनर्निर्माण गर्दै अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याएको छ।
यो घटना अघि तीनकुनेमा दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलन पनि भड्किएर कोटेश्वरको भाटभटेनीमा लुटपाट भएको थियो।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेलाई आधार मानेर २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।
कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ।