अर्थमन्त्री स्वर्णिम वाग्लेले इमान्दार व्यवसायीलाई सरकारले कुनै दुःख नदिने बताएका छन्।
लगानीका लागि अहिले नेपालमा निकै अनुकूल वातावरण बनेको भन्दै उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले करका दर घटेको, बैंकमा पर्याप्त पैसा रहेको, विदेशी विनिमय सञ्चिति सहज अवस्थामा रहेको र स्थिर सरकार बनेको बताए।
'सरकारले सबै अवस्था सहज बनाउँदा पनि निजी क्षेत्र किन डराइरहेको छ? अब निजी क्षेत्रको क्यारेक्टरमा पनि प्रश्न गर्नुपर्ने अवस्था आएको हो कि!' उनले भने।
सरकार, कर प्रशासन र निजी क्षेत्रबीच सहकार्य भए मात्रै आर्थिक वृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
इमान्दार र मिहिनेती व्यवसायीलाई सरकारले दुःख नदिने उनले स्पष्ट पारे।
वाग्लेले कर विवाद समाधान र कर अनुपालन बढाउन सरकार निरन्तर लागिरहेको बताए।
कर विवादमा रहेका व्यवसायीले पुससम्म १ प्रतिशत मात्रै रकम तिरेर विवादमुक्त हुने अवसर रहेको भन्दै उनले यसको लाभ लिन आग्रह गरे।
'कर न्याय र इमानदारितामा सरकार प्रष्ट छ,' उनले भने, 'गत वर्षभन्दा २७ प्रतिशत बढी राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य छ।'
उनले चालु वर्ष करका दर र दायरामा ऐतिहासिक सुधार गरिएको पनि बताए।
आगामी वर्षको बजेटमा भन्सारदेखि अन्तशुल्कसम्म थप सुधारका साहसिक नीति ल्याउने उनको भनाइ छ।
यस वर्ष बजेट निर्माणका लागि पर्याप्त समय नपाएको उल्लेख गर्दै उनले आगामी बजेटमा कर सुधारलाई थप निरन्तरता दिने बताए।
'कर सुधारको दोस्रो चरण (२.०) आउनेछ,' उनले भने।