पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडकमा रहेको बिजुलीको पोल नसार्ने ठेकेदारको 'खुट्टा भाँच्नू' भन्दै निर्देशन दिएपछि बुटवलमा अहिले एउटा प्रश्न उठेको छ — के उनी यस्तै निर्देशन रास्वपाका निर्वाचित सांसद तथा ठेकेदार तौफिक खानका हकमा पनि दिन सक्छन्?
बुटवलको साढे दुई किलोमिटर सडक निर्माणको जिम्मा लिएर अलपत्र पारेका निर्माण व्यवसायी तौफिक खान सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर ५ का निर्वाचित सांसद हुन्।
उनले पहिलो ठेक्का तोडेर खोलिएको दोस्रो पटकको ठेक्कामा बुटवलको राजमार्ग चौराहादेखि गोल पार्क सम्मको सडक निर्माणको जिम्मा लिएका थिए।
विकास निर्माणमा हुने ढिलासुस्ती, सुशासन र भ्रष्टाचार नियन्त्रणका नारा लिएर चुनाव जितेका खानले एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सडक २० महिना पूरा हुँदा ५८ प्रतिशत हाराहारी मात्र सम्पन्न भएको छ।
बुटवलको सडकमा उड्ने धुलोले यहाँका बासिन्दाको फोक्सो मात्र भरेको छैन, उनीहरूको धैर्यको बाँध पनि टुटाइदिएको छ। २०७३ सालदेखि सुरू बुटवल राजमार्ग चौराहादेखि गोलपार्क सम्मको साढे तीन किलोमिटर सडक ८ वर्षसम्म पनि निर्माण नभएपछि सडक डिभिजन कार्यालय बुटवलले पहिलो ठेक्का तोडेको थियो।
२०७६ सालभित्रै सडक निर्माणको काम पूरा गर्ने गरी द कञ्चनजङ्घा बिरूवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता गरे पनि ८ वर्षमा जम्मा ५४ प्रतिशत मात्र काम गरेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा उक्त निर्माण कम्पनीसँगको ठेक्का तोडेको थियो।
पुरानो ठेक्का तोडिएपछि २०८१ असोज १८ गते बाबुल दर्शन मालिका जेभीसँग नयाँ ठेक्का सम्झौता गरियो।
अघिल्लो कम्पनीसँग ठेक्का तोड्दा बाँकी रहेको ४६ प्रतिशतलाई एक सय प्रतिशत मानेर एक वर्षमा सम्पन्न गर्ने गरी बाबुल दर्शन मालिका जेभीले भ्याटसहित ३३ करोड ३७ लाख ८१ हजार ५६८ रूपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीले पेस्कीसहित हालसम्म १७ करोड रूपैयाँ भुक्तानी लगिसकेको छ।
सडक डिभिजन कार्यालयसँग निर्माण कम्पनीका तर्फबाट तौफिक आफैले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन्। पछिल्लो समय सडकका कामको अख्तियारी उनले आफ्नै भाइ नफिस खानलाई दिएका छन्।
सम्झौता अनुसार यो सडक २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ६ महिना अवधि थपेर चैत मसान्तसम्म पुर्याएको थियो। तर सडक निर्माणको काम अलपत्र पारेर खान निर्वाचनमा लागेका थिए।
पहिलो पटक थपिएको म्याद चैतमा सकिएपछि दोस्रो पटक म्याद थपेर असार मसान्तसम्म पुर्याइएको छ। तैपनि निर्माण व्यवसायीले सडक निर्माणको काममा चासो दिएका छैनन्।
सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी शुभेच्छा सारूले पछिल्ला केही महिनादेखि सडक निर्माणको काम अत्यन्त सुस्त बनेको बताइन्।
'सडक निर्माणभन्दा रेलिङ र स्ट्रिट लाइटको फाउन्डेसनको काम मात्र भइरहेको छ,' उनले भनिन्।
सडकको मुख्य लेनको ६ सय मिटरमा सब-बेसको काम समेत बाँकी छ भने १२ सय मिटरमा माथिल्लो कालोपत्रेको काम गर्न बाँकी छ। फुटपाथको अधिकांश भागमा टायल बिछाउने काम सम्पन्न भइसकेको भए पनि दुवैतर्फको सर्भिस लेनमा नाली बनाउने र रेलिङ लगाउने काम बाँकी छ।
-1781594072.jpg)
बुटलको अस्पताल लाइनमा औषधि व्यवसाय सञ्चालन गर्दै आएका रामप्रसाद खरेल यो सडक समयमा नबन्दा सबभन्दा बढी बिरामीहरूलाई सास्ती भइरहेको बताउँछन्।
'अलपत्र सडकमा सामान्य अवस्थाका मान्छेलाई त यात्रा गर्न सास्ती छ भने बिरामीहरूलाई अस्पताल आउजाउ गर्न कति सास्ती भइरहेको होला?' उनले भने, 'कसैप्रति आरोप-प्रत्यारोप गर्ने मात्र नभई अब सडक छिटो बन्नुपर्यो।'
बुटवल मिलनचोकमा पुस्तक पसल चलाइरहेका ऋषिराम पाण्डे पनि सडककै कारण व्यापार व्यवसाय ठप्प बनेको बताउँछन्।
उनका अनुसार नाली भत्काएर लथालिंग पारिएकाले अब बर्खा याममा पानी बग्ने निकास छैन। हिउँदमा पनि धुलोले सास्ती दिइरहेको उनको भनाइ छ।
निर्माण समयमा पूरा नभएकाले सडक किनारका कतिपय व्यापार व्यवसाय कालिकापथ, होराइजन चोक, देवीनगर लगायत स्थानमा सर्दै गएको उनले बताए।
निर्माण कम्पनीले हाल नदीजन्य पदार्थको अभाव देखाउँदै सडक निर्माणको काम अलपत्र पारेको छ। सडक डिभिजन कार्यालयका अनुसार सडक निर्माणका लागि जम्मा १५ हजार घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्छ। निर्माण व्यवसायीले भने उत्खनन गर्न दिइएन भन्ने बहाना बनाएर सडक अलपत्र पारेका छन्।
पहिलो ठेक्का तोडेर एक वर्षभित्र काम सक्ने गरी दोस्रो ठेक्का सम्झौता गर्दा समयमै सडक निर्माणको काम पूरा हुने बुटवलवासीमा आशा जगाएको थियो। तर त्यो आशा अहिले फेरि निराशामा परिणत भएको छ।
पहिलो ठेक्का तोडेर लगाइएको दोस्रो पटकको ठेक्का अवधिमा पनि सडक निर्माणको काम पूरा नहुँदा बुटवलको व्यापारिक गतिविधिमा कठिनाइ भएको छ। अन्यत्र सडक निर्माणका लागि ठेक्का लिएका निर्माण व्यवसायीले ढिलासुस्ती गरे खुट्टा भाँच्ने र रूखमा बाँध्ने धम्की दिने प्रधानमन्त्री र पूर्वाधार विकास मन्त्रीले आफ्नै पार्टीका ठेकेदार सांसदलाई कारबाही गर्न सक्लान् भन्ने यहाँ प्रश्न पनि उठेको छ।
पूर्वाधार विकास मन्त्री लम्सालले आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसारेर सडक निर्माणको काम अघि बढ्न नसकेको भन्दै पोल सार्न जिम्मा लिएको कन्ट्र्याक्टरको खुट्टा भाँच्न निर्देशन दिएका थिए।
सोमबार बिहानैदेखि उक्त भिडिओ विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल बन्यो। मन्त्री जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई अगाडि राखेर गैरजिम्मेवारपूर्ण रूपमा ठेकेदारको खुट्टा भाँच्नू भन्दै निर्देशन दिएपछि उनको सर्वत्र आलोचना भइरहेको छ।
त्यसो त प्रधानमन्त्री बालेन शाहले निर्वाचनमा होमिँदै गर्दा फागुन पहिलो साता धनगढीमा आयोजित चुनावी सभाको मञ्चबाटै सडक अलपत्र पार्ने ठेकेदारलाई खोरमा जाक्नुपर्ने भन्दै भाषण गरेका थिए।
रास्वपाको वरिष्ठ नेताका हैसियतमा चुनावी सभालाई सम्बोधन गर्दै शाहले समयमा सडक निर्माण नगर्ने ठेकेदारलाई रूखमा बाँधेर हुन्छ कि खोरमा जाकेर हुन्छ समयमा सडक बनाउने बताएका थिए।
'सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्नेहरूलाई रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो, २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा,' शाहले भनेका थिए।
निर्वाचनको बेला शाह र अहिले मन्त्री लम्सालले सडक अलपत्र पार्ने ठेकेदारका खुट्टा भाँच्नुपर्ने र रूखमा बाँध्नुपर्ने जस्तो अराजक र गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिइरहँदा सडक निर्माणको जिम्मा लिएर वर्षौंदेखि अलपत्र पार्ने ठेकेदार सांसद बनेर संसदबाट ढिलासुस्ती, सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लगाइरहेका छन्।
-1781594072.jpg)
-1781594072.jpg)